काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको मुम्बई यस जितपछि अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हारले राजस्थान एलिमिनेट हुन पुग्यो । मुम्बईको जारी सिजन यो लगातार छैटौं जित हो ।
घरेलु मैदानमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल तयार पारेको थियो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय साझेदारी गरेपछि मुम्बईले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि यो जोडीले ७१ बलमा १ सय १६ रनको साझेदारी गरेका थिए ।
रायन ३८ बलमा ७ चौका र ३ छक्का सहित ६१ रनमा आउट भए । रोहितले ३६ बल खेल्दै ९ चौकाका साथ ५३ रन जोडे । सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटका लागि ९४ रनको अविजित साझेदारी गरे । राजस्थानका लागि महिस थिक्सना र रियान परागले समान १-१ विकेट लिए ।
जवाफमा २ सय १८ रनको लक्ष्य पछ्याउएको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १७ रनमा समेटियो । अघिल्लो खेलमा शतक प्रहार गरेका वैभव सूर्यवंशीले यस खेलमा खाता खोल्न सकेनन् । यशस्वी जैसवाल १३ रनमा आउट भए । नितिश राना ९ र रियान पराग १६ रनमा बाहरिए । शिभम दुवेले १५ र जोफा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले समान ३-३ तथा जस्प्रित बुमराहले २ तथा हार्दिक पान्ड्या र दीपक चाहरले १-१ विकेट लिए ।
यससँगै मुम्बई ११ खेलमा ७ जितसहित १४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको ११ खेलमा ३ जितसहित ६ अंक छ । उसको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।