सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराश भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यविहीन आउँछ कि भन्ने आशङ्का देखिएको बताउनुभयो । 

उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्नेकुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रश्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्न समेत गर्नुभयो ।

 उहाँले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको समेत जिकिर गर्नुभयो ।

उहाँले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यसले जनतामा निराशा थप्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.