
काठमाडौं । सरकारले वायु प्रदूषण कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो-६ मापदण्ड लागू गर्ने भएको छ ।
शुक्रबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वायु गुणस्तरकारी योजना लागू गर्दै उक्त मापदण्ड लागू गर्ने बताउनु भएको हो ।
‘एकीकृत जलाधार व्यवस्थापनमार्फत् पानी सञ्चय, भू-क्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनः संरचना र पुनः स्थापनामा ध्यान दिइनेछ,’ उहाँले भन्नुभयो, ‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गरिनेछ । संरक्षण क्षेत्रमा मानव प्रकिृतिसँग अस्तित्व कायम गरिनेछ ।’
राष्ट्रपति पौडेलले वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सरल बनाइने समेत बताउनुभयो ।
के हो यूरो–६ ?
यूरो-६ हाल इन्धनमा सबैभन्दा अत्याधुनिक र प्रदुषण कम गर्ने इन्धन मापदण्ड हो । यसअघि प्रयोग हुँदै आएको यूरो-४ मा सल्फरको मात्र ५० पीपीएम हुने गरेको थियो । जसबाट अत्यधिक रूपमा विषादियुक्त धुवाँ निस्कँदा वातावरणमा प्रतिकूल असर पार्ने गरेको थियो ।
तर, यूरो-६ मा सल्फरको मात्र १० पीपीएम मात्र हुने भएकाले वातावरण प्रदुषणसमेत कम गर्नेछ भने यो मापदण्डको इन्धनले गाडीको क्षमतामासमेत वृद्धि हुने विज्ञको ठहर छ ।