ललितपुर । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटी क्लबले सरस्वती युथ क्लवविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फ मैदानमा आज भएको खेलमा आरसीटीले सरस्वतीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा आरसीटीको यो तेस्रो जित हो । नवौं चरणका खेल चलिरहँदा आरसीटीले आफूलाई रेलिगेसन जोनबाट बाहिर निकालेको छ । सरस्वती लिगको पुछारमा छ । सरस्वतीले दुई पटकको अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । आरसीटीका लागि प्रज्वल गुरुङले २ गोल गरे ।
सरस्वतीले खेलको ३६औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । विशेष लामाले टिमका लागि डेडलक तोडेका थिए । ४०औं मिनेटमा अजित गुरुङले डी बक्सको किनाराबाट गोल गरेर खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।
५३औं मिनेटमा सन्देश खत्रीले गोल गरेपछि सरस्वतीले खेलमा पुनः अग्रता बनायो । तर, त्यसपछि आरसीटीले अक्रामक फुटबल खेल्दै शानदार पुनरागमन गर्यो । ६५औं मिनेटमा प्रज्वल गुरुङले आरसीटीका लागि दोस्रो गोल थपे । त्यसको २ मिनेटपछि सजन पाख्रिनले गोल गर्दै आरसिटीलाई अघि बढाए । ७०औं मिनेटमा प्रज्वल गुरुङले व्याक्तिगत २ गोल गरेपछि आरसिटीले २ गोलको अग्रता बनायो ।
खेलको इन्जुरी समयमा नरेश खत्रीले सरस्वतीका लागि गोल गरे पनि आरसिटीले ४-३ को जित सुरक्षित गर्यो । अजित गुरुङ म्यान अफ द म्याच घोषित भए । जितसँगै आरसिटीले ९ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । यस जितले उसलाई रेलिगेसन जोनबाट बाहिर निकालेको छ । समान खेलमा १ जित हात पारेको सरस्वती ५ अंकसहित पुछारमा छ । उ रेलिगेसनको खतरामा छ ।