सुर्खेत । कर्णाली प्रदेशमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीनपटक मिति सारेर हाललाई स्थगित भएको छ।
कहिले पूर्वाधार अभाव त कहिले मौसम अनुकुल नभएको भन्दै प्रतियोगिता स्थगित गरिँदा तयारीमा जुटेकाहरू निराश भएका छन् भने कर्णाली प्रदेशमा खेलकुद गतिविधि थप शिथिल बन्न पुगेको छ ।
२०७९ कार्त्तिक ३ मा राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने गरी राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि कर्णालीवासी, त्यहाँका खेलाडी र खेलप्रेमीहरु निकै उत्साहित थिए ।
तत्कालीन कर्णाली सरकारले आफ्नै प्रदेशमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने विषयलाई प्रतिष्ठाको विषय बनायो । अन्य क्षेत्रको विकास बजेट काटेर प्रदेश रंगशाला निर्माणलाई प्रदेश गौरवका आयोजना रूपमा अघि बढायो ।
हरेक जिल्लामा खेल पूर्वाधार बनायो । कर्णालीमा पनि राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सकिन्छ भनेर प्रदेश सरकारले प्रमाणित गर्ने तयारी गरिरहादा ३-३ पटक मिति तोकिने र सार्ने काम भएको छ ।
प्रतियोगितालाई सफल बनाउन कर्णालीको निजी क्षेत्र पनि सक्रिय थिए । दशौँ खेलकुद प्रतियोगितामा आउने खेलाडीदेखि पाहुँनाको बसोबासका लागि निजी क्षेत्रले लगानी बढाएका थिए । तर पटक-पटक मिति तोक्ने र अन्तिम अवस्थामा स्थगित गर्दा त्यहाँका निजी क्षेत्र पनि निराश छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यले कतिपय खेलाडीलाई त बन्द प्रशिक्षणमा समेत राखिएको थियो । प्रतियोगिता स्थगित भएपछि सबै खेलको जिल्ला र प्रदेशस्तरिय छनौट लगायतको आन्तरिक तयारी समेत रोकिएको छ ।
अघिल्लो भदौँदेखि ६३ दिनसम्म विभिन्न खेलका १ सय १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । प्रतियोगिताका लागि कर्णाली सरकारले २ करोड २९ लाख रकम खर्च गरिसकेको छ । प्रतियोगीता स्थगित भएसँगै आन्तरिक तयारी पनि पूर्णरूपमा रोकिएको छ ।