युएफा च्याम्पियन्स लिग : बार्सीलोना र इन्टर मिलानबीचकाे खेल बराबरीमा

वैशाख १८, २०८२ |खेल ब्युरो
युएफा च्याम्पियन्स लिग : बार्सीलोना र इन्टर मिलानबीचकाे खेल बराबरीमा

काठमाडौं । युएफा च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो खेलमा बार्सीलोना र इन्टर मिलानले ३-३ गोलको बराबरी खेलेका छन । १७ वर्षीय लमिन यामलको उत्कृष्ट प्रदर्शनको मद्दतमा बार्सिलोनाले २-० गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो ।

गएराति भएको खेलमा इन्टरले घरेलु टिमलाई, सुरूवाती ३० सकेन्ड भित्रै गोल गरेर स्तब्ध पारेको थियो । उसका लागि डेन्जेल डम्फ्रिजको सहयोगमा मार्कस थुरामले गोल गरेका हुन् । यो प्रतियोगिताको इतिहासमा अन्तिम चारमा भएको अहिले सम्मको छिटो गोल हो । 

२१औं मिनेटमा डम्फ्रिजले एक्ट्रोब्याटिक भली गोल गरेपछि इन्टरले बार्सीलोनाविरुद्ध २-०को दुरी बनाएको थियो । तर बार्सीलोना पहिलो हाफमानै खेलमा फर्कियो । 

२४औं मिनेटमा यामलले इन्टरसँगको गोल दुरी २-१मा झारे । क्लबका लागि एक सयौं खेल पुरा गरेका १७ वर्ष दुई सय ९१ दिनका यामल, च्याम्पियन्स लिग सेमीफाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । 

यसअघि सन सन २०१७ मा किलियन एम्बाप्पेले १८ वर्षको हुँदा गोल गरेका थिए । यामल दोस्रो गोलको पनि नजिक पुगेका थिए । तर यो पटक उनको प्रहार पोस्टमा लाग्यो । ३८औं मिनेटमा फरान टोरेसले गोल गरेपछि पहिलो हाफ २-२को बराबरीमा सकियो । 

६३औं मिनेटमा डम्फ्रिजले गोल गरेपछि पाहुँना टोली पुन अघि रहेको थियो । ६५औं मिनेटमा इन्टरका यान सोमरले आफ्नै पोस्टमा गोल गरे र बार्सीलोना हारबाट जोगियो । 

६ गोल भएको यो खेलको मुख्य आकर्षण भने यामल रहे । उनले आफ्नो प्रदर्शनबाट विपक्षी टिमका प्रशिक्षकलाई समेत प्रभावित पारे । अब दास्रो लेग अर्को साता मिलानस्थित सान सिरोमा हुनेछ ।