काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनाधिकृत पत्र काटेको आरोपमा पक्राउ परेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले आफूलाई कुनै पश्चाताप नभएको बयान दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउको पत्र लिएर बुधबार आफैं प्रहरीसम्म पुगेका सर्वोच्च अदालतका अधिकृत विष्टले आफू पत्र काट्ने अधिकार भएकै महाशाखामा कार्यरत रहेकाले आफूखुशी नै काम गरेको बताएका हुन् ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुने दिन नै चौधरीलाई पक्राउ गर्न रोज्नुको कारणबारे प्रहरीले सोधेको प्रश्नमा पक्राउ गर्न सजिलो हुने भएकाले त्यसो गरेको जवाफ दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले बताए ।
कैलालीको टीकापुर घटनामा पूर्णपाठ नआउँदै माफी दिएको आफूलाई चित्त नबुझेकाले त्यसो गरेको पनि उनको तर्क छ । यता, प्रहरीले पनि पत्रमा भएको व्यहोरासमेत नहेरी कार्यान्वयन गरेको भन्दै आलोचना भइरहेको छ ।
प्रहरीले थुनामा पठाउन लेखिएको विवरणमा २०८० साल जेठ २ गते चौधरीलाई सर्वोच्च अदालतले जन्मकैद तोकिए अनुसार कारागार पठाउन भनिएको छ । तर, उक्त फैसलामा राष्ट्रपतिले आममाफी दिएर चौधरी छुटिसकेकाले फेरि सर्वोच्चको कुन आदेश थियो भन्नेसम्म प्रहरीले हेक्का राखेको थिएन । चौधरी छुटेको विरुद्धमा सर्वोच्चमै मुद्दा विचाराधीन छ ।
त्यसो त विष्टको पत्र अध्ययन नगुर्नमा डिल्लीबजार कारागार प्रशासन पनि चुकेको छ । विष्ट आफैं कारागारमा पत्र लिएर गएका हुन् । उक्त पत्रमा कहिले, को न्यायाधीश र कुन आदेशअनुसार मान्छे थुनामा ल्याएको हो भन्ने कारागार प्रशासनले अध्ययन गरेको भए पनि घटना हुने थिएन ।
विष्ट नियोजित रुपमा प्रयोग भएका हुन् कि होइनन् भन्नेमा सर्वोच्च अदालत आफैंले छानविन गर्नुपर्ने प्रहरीको बुझाइ छ । विष्टविरुद्ध सर्वोच्चकै अर्को पत्र अनुसार झूठो जानकारी दिएको, आदेश अवज्ञा गरेको र किर्तेमा मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ ।