कोशी प्रदेशको लगानी सम्मेलनले समृद्धिको ढोका खोलेको छ : प्रधानमन्त्री ओली

वैशाख १८, २०८२ |सुशीला पाठक
कोशी प्रदेशको लगानी सम्मेलनले समृद्धिको ढोका खोलेको छ : प्रधानमन्त्री ओली

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनले समृद्धिको ढोका खोलेको बताउनुभएको छ ।

कोशी प्रदेश लगानी सम्मेलनको बिहीबार विराटनगरको वीरेन्द्र सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट लगानीसम्बन्धी छलफल र नयाँ लगानी भित्रिने अपेक्षा व्यक्त गर्नुभयो । पर्यटन, कृषि, उद्योग, आइटी र सेवाका क्षेत्रमा कोशी प्रदेश अब्बल रहेको र शान्ति, सुरक्षा पनि अब्बल रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उहाँले आह्वान गर्नुभयो ।

कोशी प्रदेशको लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको छ भने एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ भित्र्याउने योजना प्रदेश सरकारको छ । 

सम्मेलनमा नेपाली उद्योगी व्यवसायीसँगै चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपाली सहभागी छन् । 

दुई दिन हुने लगानी सम्मेलनमा कृषि र पर्यटन कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकारण, पूर्वाधार विकास र उर्जा, स्वास्थ्य सेवा र मेडीकल शिक्षामा लगानीका अवसर र सम्भावना गरी ६ विषयमा छलफल हुनेछ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।