काठमाडौं । चेन्नई सुपर किंग्स, इन्डियन प्रिमियर लिग-आईपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति भएको खेलमा पञ्जाब किंग्ससंँग ४ विकेटले पराजित भएपछि चेन्नईको प्ले अफ संभावना समाप्त भएको हो । यो खेलमा पञ्जाबका युजवेन्द्र चहलले ह्याट्रिक लिए ।
चेपोकमा पञ्जाबले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । चेन्नईले १९ ओभर दुई बलमा अल आउट हुँदै एक सय ९० रनको योगफल बनाएको थियो । ओपनर सेख रसिद ११ र आयुष म्हात्रे ७ रनमा मैदान बाहिरिएपछि चेन्नई दबाबमा आएको थियो ।
रविन्द्र जडेजा १७ रनमा आउट भए । डेवाल्ड ब्रेभिस र साम करणले इनिङस सम्हाले । ब्रेभिसले ३२ रन बनाए । करणले ४७ वलमा ८८ रनको योगदान गरेपछि चेन्नईले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
करणको आईपीएलमा यो अहिले सम्मको उच्च रन हो । धोनीले ११ रन थपे । चेन्नइले डेथ ओभरमा भने राम्रो गर्न सकेन् । चहलले चार, अर्शदिप सिंह र मार्को यानसेनले दुई-दुई विकेट लिए ।
चहलले चारै विकेट १९औं ओभरमा लिएका हुन् । उनले ह्याट्रिक लिने क्रममा दिपक हुड्डा, अन्सुल कम्बोज र नुर अहमदको विकेट लिए । यो सिजनको पहिलो ह्याटि्रक हो । समग्रमा चहलले आइपिएलमा दोस्रो पटक ह्याट्रिक पुरा गरे ।
जवाफमा पञ्जाबले १९ ओभर चार बलमा ६ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । प्रियान्स आर्याले २३, प्रभसिमरनले ५४ रन बनाए । कप्तान श्रेयस ऐअरले ७२ रनको उत्कृष्ट इनिङस खेले । शसांक सिंहले २३ रन थपे ।
खालिल अहमद र मथिसा पाथिरानाले दुई-दुई विकेट लिए । चेन्नईको दश खेलमा यो आठौं हार हो । चेन्नई लगातार दोस्रो सिजन प्लेअफ पुग्न असफल भएको हो । जितपछि पञ्जाब भने १० खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।