मनमोहन स्मृति एक दिवसीय क्रिकेट : भारतको आसाम क्रिकेट क्लबलाई हराउँदै पुलिस पुग्यो फाइनलमा

वैशाख १८, २०८२ |महाप्रसाद खतिवडा
मनमोहन स्मृति एक दिवसीय क्रिकेट : भारतको आसाम क्रिकेट क्लबलाई हराउँदै पुलिस पुग्यो फाइनलमा

मोरङ । विराटनगरमा जारी मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव फाइनल प्रवेश गरेको छ ।

विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको समूह-बीको अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

जितपछि समूह-बीमा पुलिस, आसाम र घरेलु टोली कोशी प्रदेशले दुई खेलमा एकमा जित र एक खेलमा पराजित हुँदै समान दुई–दुई अंक जोडेका थिए । नेट रन रेटका आधारमा पुलिस फाइनलमा पुगेको हो । 

यसअघि समूह-एबाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ । शनिबार फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलमा पाहुना टोली आसामले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नुपर्ने दवावका बीच मैदान प्रवेश गरेको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सञ्जीव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादव र अरुण ऐरीले समान ३-३ विकेट लिए ।

जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन बनाए ।

शंकर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले । ६ दशमलव २ बलमा ४ विकेट गुमाएर ४३ रन जोडेको नाजुक स्थितिमा रहेको पुलिसका लागि कप्तान अमित र शंकरले पाँचौ विकेटका लागि १ सय १९ बलमा अविजित १ सय १७ रनको साझेदारी गरे । आसामका कप्तान गोकुल शर्माले ३ विकेट लिए ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।