काठमाडौं । १४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ । हारसँगै गुजरातको तालिकाको शीर्ष स्थामना पुग्ने लक्ष्य पुरा हुन सकेन ।
सवाई मानसिंह स्टेडियम, जयपुरमा घरेलु टोली राजस्थानले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल तयार पारेको थियो ।
उसका लागी ओपनर तथा कप्तान शुभमन गिलले ५० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । गिल र साई सुदर्शनले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । सुदर्शनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे ।
गिल र बटलरबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी भयो । वासिंगटन सुन्दर १३ र राहुल तेवाटिया ९ रनमा आउट हुँदा शाहरूख खानले नटआउट ५ रन बनाए । बटलर २६ बलमा ५० रन बनाउँदै नटआउट रहे । राजस्थानका लागी महिश थिक्सानाले २ विकेट तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।
जवाफमा २ सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा केवल २ विकेट गुमाएर पुरा गर्यो । राजस्थानले आईपीएल इतिहासमा २ सय भन्दा माथिको योगफल सबै भन्दा छिटो पुरा गरेर कीर्तिमान बनायो ।
ओपनर वैभव सुर्यवंशीले मात्र ३५ बलमा शतक पूरा गरेपछि राजस्थानले सहज जित हात पारेको हो । सुर्यवंशीले ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको आक्रमक शतकीय इनिङ्स खेले ।
१४ बर्ष ३२ दिनको उमेरमा शतक प्रहार गर्दै सुर्यवंशी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी समेत बनेका सुर्यवंशीले आईपीएल इतिहासकै दोस्रो छिटो शतक बनाए ।
सुर्यबंशी र जैसवालले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । नितिश रानाले ४ रन जोड्दा कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । यशस्वी जैसवालले अविजित ७० रन बनाए । गुजरातका लागी प्रसिद्ध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।
यस जितका बाबजुद राजस्थान १० खेलमा ३ जित सहित ६ अंकसहित आठौं स्थामना छ । गुजरात ९ खेलमा ६ जितसहित १२ अंक जोडेर तेस्रो स्थानमा छ । आइपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दै छन् ।