एनएसएल : लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंले चितवनलाई २-० ले हरायो

वैशाख १, २०८२ |खेल ब्युरो
एनएसएल : लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंले चितवनलाई २-० ले हरायो

काठमाडौं । काठमाडौं रेजर्सले लिग चरणको आफ्नो अन्तिम खेलमा एफसी चितवनलाई २-० ले हराउँदै नेपाल सुपर लिगको प्ले अफको सम्भावनालाई जिवितै राखेको छ । दशरथ रंगशालामा भएको वर्ष २०८२ को पहिलो खेलमा काठमाडौंले जित हाासिल गरेको हो ।

खेलको आठौं मिनेटमा रोहनको प्रहार गोलकिपर अमल नाइटले बचाएका थिए । ११औं मिनेटमा रोहनकै पासमा बुया टुरेको प्रहार क्रसबार माथिबाट बाहिरिँदा काठमाडौं गोलमा असफल भयो । १६औं मिनेटमा काठमाडौं गोल ब्यहोर्नबाट बच्यो । युसुफ मलिकले बायाँतर्फबाट गरेको प्रहार काठमाडौंका गोलकिपर चेख गुएले बचाएका थिए । यता २१औं मिनेटमा जिलेस्पीजंग कार्कीले पोस्टको नजिकैबाट पनि सही दिशामा प्रहार गर्न सकेनन् ।

चितवनका कप्तान अन्जन विष्टले २३औं मिनेटमा पोस्टमाथि प्रहार गरे । २८औं मिनेटमा गोलकिपर गुएले हाइभ हानेर बचाएका थिए । तर ३२औं मिनेटमा काठमाडौं अग्रता बनाउन सफल भयो । बेकरी मानेले फ्रि किकमा गोल गरेका हुन् । 

पहिलो हाफमै अग्रता लिएको काठमाडौंले त्यसपछि लगातार अट्याक बनाइरह्यो । चितवनले भने पाएका अवसर सदुपयोग गर्न सकेन् । यता, पुरा समय खेल्न फिट नभएपछि अन्जन दोस्रो हाफमा सब्सटिच्युट भएका थिए ।

४८औं मिनेटमा काठमाडौंका अमाडोउ दिओपले विपक्षी गोलकिपर अमललाई बिट गरिसकेको अवस्थामा पनि गोल गर्न सकेनन् । उनको प्रहार अभिषेक लिम्बूले बचाएका थिए । 

५६औं मिनेटमा चितवनलाई अर्को झट्का लाग्यो, उसका नाइजेरियन युवा फरवार्ड युसुफ मलिकलाई रेफ्री प्रज्वल क्षेत्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए । अमलले ५७औं मिनेटमा पनि राम्रो बचाउ गरे, उनले यसपटक दियोपको प्रहार बचाए । 

६४औं मिनेटमा दुई ट्याक्टिकल परिवर्तन गरेको काठमाडौंले ७१औं मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक अमादोउले अमललाई बचाउको मौका नै दिएनन् । यससँगै काठमाडौंले २-० को जित हासिल गर्‍यो । यससँगै उसले लिग चरणमा ८ अंक बनाएको छ । लिगमा ७ अंक भएको चितवनको एक खेल बाँकी छ । उसले लिगको अन्तिम खेलमा बैशाख ४ गते धनगढीको सामना गर्नेछ । काठमाडौंको प्ले अफ सम्भावना बाँकी टिमको नतिजामा भर पर्नेछ ।