काठमाडौं । पहिलो हाफमै किलियन एमबाप्पेले रातो कार्ड बेहोरे पनि रियल मड्रिडले ला लिगामा संघर्षरत टोली आलाभेसविरुद्ध १-० को कठिन जित हात पारेको छ । यस जितपछि रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी ४ अंकमा सीमित गरेको छ ।
मेन्डिजोरोजा मैदानमा राउल एसेन्सियोले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड भन्दै रद्द गरिएको थियो । एडुआर्डो कामाभिङ्गाले ३४ औं मिनेटमा उत्कृष्ट कर्लिङ प्रहार गर्दै गोल गरे । उनको गोल मार्फत रियालले अग्रता बनाएको थियो । कामाभिङ्गाले मार्च ५, २०२२ मा रियाल सोसिडाडविरुद्ध गरेको लामो दूरीको कर्लिङ गोलपछि पहिलो पटक ला लिगामा गोल गरेका हुन् ।
३८ औं मिनेटमा एमबाप्पेले एन्तोनियो ब्लाङ्कोमाथि पछाडिबाट खतरनाक ट्याकल गरेपछि उनलाई सिधा रातो कार्ड देखाइयो । त्यसपछि रियल दोस्रो हाफभरि १० खेलाडीमा सीमित रह्यो । ७० औं मिनेटमा आलाभेसका मानु सान्चेजले भिनिसियस जुनियरमाथि उस्तै खतरनाक फउल गरेपछि दुवै टोली १०-१० खेलाडीमा झरे ।
इन्जुरी समयमा भिनिसियसको पासबाट जुड बेलिङ्घमले गोल गर्ने सुनौलो मौका गुमाए । यद्यपि रियालले अन्तिम समयसम्म अग्रता जोगाउँदै तीन अंक जोड्न सफल भयो । उसले शीर्षस्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । रियलले ३१ खेलमा ६६ अंक बनाएको छ । दुवै टिमले समान ७-७ खेल खेल्न बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ । आलाभेस भने ३० अंक सहित १७ औं स्थानमा छ । ऊ रेलिगेसन क्षेत्रभन्दा एक अंकले माथि छ ।