काठमाडौं । इटालियन सिरी आ मा रेलिगेसनको खतरा झेलिरहेको लेच्चेमाथि युभेन्टसले २-१ गोल अन्तरको जित हात पारेको छ ।
पहिलो हाफमै दुई गोल गर्दै विजयी भएको युभेन्टसको अपराजित यात्रा पनि जारी रहृयो । टेउन कुपमाइनर्स र केनान यिल्डिजले युभेन्टसका लागि गोल गरे । लेच्चेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि त्यो सान्त्वनाका लागि मात्रै बन्न पुग्यो । युभेन्टसको यो तेस्रो लगातार अपराजित खेल हो । यसले उसको शीर्ष चारको आशा जीवित राखेको छ ।
युभेन्टसले पहिलो हाफमै पूरै दबदबा जमायो । दुसान भ्लाहोभिचको पासमा कुपमाइनर्सले डिबक्सभित्रबाट प्रहार गर्दै गोल गरे । त्यसपछि भ्लाहोभिच र रेनाटो भेइगाका लगातार प्रयासहरू रोकिए ।
३३औं मिनेटमा यिल्डिजले पोस्टको कुनामा प्रहार गर्दै दोस्रो गोल गरे । दोस्रो हाफमा युभेन्टसले दबाब घटायो र लेच्चेले खेलको अन्त्यमा केही तनावपूर्ण क्षण सिर्जना गर्यो । ८७औं मिनेटमा फेडेरिको बास्किरोट्टोले फ्रिकिकमा हेड गर्दै गोल गरे ।
तर लेच्चेले बराबरी गोल गर्न सकेन र उनीहरूको जितविहीन यात्रा ९ खेलसम्म पुगेको छ । लेच्चे रेलिगेसन क्षेत्रभन्दा मात्र दुई अंक माथि छन् । युभेन्टस भने तेस्रो स्थानमा उक्लिएको छ । उसको ३२ खेलमा ५९ अंक छ ।