काठमाडौं । वीरगन्जमा जारी तनाव मत्थर गर्न आज साँझ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । उक्त निर्णयमा घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन अनुसन्धान गरी कानुनी कारबाही गर्ने उल्लेख रहेको छ ।
त्यस्तै अन्तरधार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहने पनि सहमति भएको छ । त्यस्तै सबै पक्षले कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने निर्णय समेत भएको छ । त्यसैगरी, घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने गर्ने र घटनामा भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ । जिल्लामा सञ्चालित सबै धार्मिक संस्था तथा ती संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।
यसअघि आइतबार बिहान सम्पन्न सर्वदलीय बैठकले पनि तथा विभिन्न दलका जिल्ला प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै सद्भाव कायम गर्न अपिल गरेको थियो ।