काठमाडौं । आईसीसी पुरूष अन्डर-१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन् । मूलपानीको तल्लो मैदानमा नेपालले युएइको सामना गर्दै छ भने माथिल्लो मैदानमा अफगानिस्तान र ओमान खेल्दै छन् ।
दुबै खेल बिहान साढे ९ बजे सुरु हुँने छन् । हिजो आयोजित क्याप्टेन्स मिटमा सहभागी पाँच वटै देशका कप्तानले आफ्नो टिम विश्वकपमा पुग्ने दाबी गरेका छन् ।
प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी हुने छन् । नेपाली युवा टोलीका कप्तान नरेन भट्टले २ महिनादेखि तयारी थालेको र घरेलु समर्थक माझ नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्ने दाबी गरे ।
अफगानिस्तान, यूएई, ओमान र हङकङका कप्तानले समेत आफ्नो टोली विश्वकपमा पुग्ने लक्ष्यसहित नेपाल आएको बताए । प्रतियोगिताको तयारी स्वरुप नेपालले अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिज खेलेको थियो ।
सो सिरिजमा २-१ ले पछि परेको नेपालले दिल्ली अन्डर-१९ विरुद्धको सिरिज भने ३-० ले क्लिनस्विप गरेको थियो । प्रतियोगिता अन्तर्गत नेपालले सोमबार ओमानसँग खेल्ने छ भने बुधबार हङकङ र आगामी शनिबार अफगानिस्तानको सामना गर्ने छ ।
सिङ्गल राउण्ड रोविनको शीर्ष स्थानमा रहने टोलीले जिम्बाबे र नामिबियामा आयोजना हुने आईसीसी पुरूष अन्डर-१९ विश्वकप २०२६ मा स्थान बनाउने छ । निर्माण कार्य जारी रहेको मुलपानीको तल्लो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।