शीर्ष स्थानमा थप बलियो हुँदै बार्सा

चैत्र ३१, २०८१ |खेल ब्युरो
शीर्ष स्थानमा थप बलियो हुँदै बार्सा

काठमाडौं । बार्सिलोनाले लगातार १२औं ला लिगा खेल अपराजित रहँदै लेगानेसलाई १-० ले हराएको छ । जितसँगै उसले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

गएराति एस्टाडियो म्युनिसिपल डे बुटार्केमा सम्पन्न खेलमा बार्साले उपहार गोलमार्फत् जित हात पारेको थियो । दोस्रो हाफको सुरूमै लेगानेसका डिफेन्डर जोर्गे साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयासमा आत्मघाती गोल गरे । 

रोबर्ट लेवान्डोस्की गोल गर्न तत्पर अवस्थामा थिए । तर साएन्जलेनै आत्माघाती गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो । लेवान्डोस्कीले राफिन्हाकै अर्को क्रसमा हेडमार्फत् गोल गर्ने प्रयास गरेपनि बल बाहिरियो । 

त्यसपछि उनलाई ६७औं मिनेटमा फेरान टोरेसले प्रतिस्थापन गरेका थिए । घरेलु टोलीले बराबरी गोल फर्काएको महसुस गरेपनि त्यो मान्य भएन । दानी राबाले आद्रिया आल्टिमिराको क्रसमा हेडमार्फत् बललाई पोस्टको दिशा दिएका थिए तर उक्त गोल अफसाइडका कारण रद्द गरियो ।

जितसँगै बार्साले ३१ खेलमा २२ जित सहित ७० अंक जोडेको छ । उसले दोस्रो स्थानको रियाल मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ । १ खेल कम खेलेको रियालले आज आलाभेससँग खेल्दै छ । 

बार्सासँगको अंक अन्तर चारमा झार्न रियाललाई जित्नै पर्ने दवाव छ । लेगानेस भने रिलिगेसन क्षेत्रमै अडि्कएको छ । ३१ खेलमा २८ अंक जोडेको लेगानेस पुछारबाट दोस्रो स्थानमा छ ।