काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको प्रशासनले अमेरिका आयात हुने स्मार्टफोन, कम्प्युटर र अन्य विद्युतीय उपकरणलाई हालै लगाइएको जवाफी करबाट मुक्ति दिने घोषणा गरेको छ ।
चीनबाट आयात हुने सामानमा लगाइएको १२५ प्रतिशत करको व्यवस्था पनि उपरोक्त वस्तुमा नलाग्ने समाचारमा जनाइएको छ । अमेरिकाले चीनबाट आयात हुने सामानमा यही अप्रिल १० देखि लागु हुने गरी पहिलेको २० र नयाँ १२५ गरी कुल १४५ प्रतिशत कर लाग्ने घोषणा गरेको थियो ।
यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले शुक्रबार राति एउटा सूचना जारी गर्दै अधिकांश देशमाथि लगाइएको १० प्रतिशत वैश्विक कर र चीनमाथि लगाइएको १२५ प्रतिशत कर लाग्ने वस्तुको सूचीबाट स्मार्टफोन कम्प्युटर, ल्यापटप, सेमिकन्डक्टर डिभाइस लगायतका २० वटा उत्पादनलाई समावेश नगरिने जनाएको हो । यो व्यवस्था अप्रिल ५ देखि नै लागु हुने बताइएको छ ।
ट्रम्पले चीनमाथि लगाएको उच्चतम करबाट कुनै प्रकारले पछि हटेको यो पहिलो घटना हो । एक जना व्यापार विश्लेषकले यस घट्नालाई खेल परिवर्तन गर्ने परिदृश्यका रूपमा व्याख्या गरेको बीबीसीले टिप्पणी गरेको छ । शनिबार मियामीतर्फ जाँदै गर्दा राष्ट्रपति ट्रम्पले आगामी साताको प्रारम्भमा यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने बताउनु भएको छ ।
यो कर छुटले चीनमा आइफोन र अन्य उत्पादन बनाउने एप्पल जस्ता ठुला प्रविधि कम्पनीहरूलाई महत्त्वपूर्ण फाइदा हुनेछ । एप्पलको करिब ९० प्रतिशत आइफोन उत्पादन र निर्माण चीनमा हुने गरेको छ ।
ट्रम्प प्रशासनको यो घोषणाले एप्पल, एनभिडिया, माइक्रोसफ्ट र अन्य ठूला प्रविधि कम्पनीलाई ठूलो राहत दिएको अमेरिकास्थित वित्तीय सेवा फर्म वेडबुश सेक्युरिटिजले जनाएको छ ।
ट्रम्पले लगाएको उच्चतम करका कारण आइफोनको मूल्यमा व्यापक वृद्धि हुने भन्दै एप्पलले भारतस्थित आफ्नो कम्पनीमा आइफोन उत्पादनमा तीव्रता दिनुका साथै ६ सय टन अथवा १५ लाख थान आइफोन विमान मार्फत अमेरिका निर्यात गरेको रोयटर्सले गत साता जनाएको थियो । ट्रम्पले गतसाता भारत लगायतका ५० भन्दा बढी देशमाथि लगाएको उच्च आयात कर ९० दिनलाई स्थगित गरेको घोषणा गर्नुभएको थियो ।