काठमाडौं । चार देश सम्मिलित टी-ट्वेन्टी सिरिजको फाइनलमा कुवेतसँग नेपाल मात्रै तीन रनले पराजित भएको छ । हङकङको मङ्ककस्थित मिसन रोड ग्राउन्डमा कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । जवाफमा अन्तिम ४ बलमा ४ रन आवश्यक रहेकोमा बसिर अहमद क्याचआउट भएपछि नेपालले सबै विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।
फाइनलमा बसिर अहमदको उत्कृष्ट इनिङका बाबजुद नेपाल पराजित भएको हो । बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरेर १ सय ८६ को स्ट्राइक रेटमा ८० रन जोडेका थिए ।
खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुवेतले पहिले ब्याटिङ गरेको थियो । कुवेतका ओपनर क्लिन्टोन एन्टो २६ रन बनाएर बाहिरिए । उनलाई नन्दन यादवले गुल्सनको हातबाट क्याचआउट गराएका हुन् । तेस्रो नम्बरका मित भगसार १६ रनमा नै बाहिरिए । उनी आउट हुँदा कुवेतले ६ ओभर १ बलमा ७१ रन बनाइसकेको थियो । कुशल भुर्तेलले उसमान पटेललाई २३ रन बनाएको अवस्थामा बोल्ड गरे । तेस्रो विकेट गुमाउँदा कुवेतले १ सय २७ रन बनाइसकेको थियो ।
कुवेतका लागि मुहम्मद उमरले ७, विलाल ताहिरले ९, मोहम्मद असलमले १३ र नविनराज राजेन्द्रनले ८ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चिएर दुई विकेट लिए । नन्दनले पहिलो दुई विकेट लिएका थिए । करण केसी र कुशलले एक-एक विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालले राम्रो सुरुआत गर्न सकेन । ओपनर कुशल भुर्तेल ३ र कप्तान रोहित पौडेल ७ रनमा आउट भए । आसिफ शेखले भने ११ बलमा २१ रन बनाए ।
कुवेती बलरले किफायति र घातक बलिङ गरेका कारण तीन विकेट गुमाउँदा नेपालले २५ रन मात्रै बनाएको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए ।
त्यसपछि मैदानमा आएका बसिर अहमदले मात्रै केही समय सम्हालिएर खेल्न सके । सोमपाल कामी ४, गुल्सन झा ९ र करण केसी ४ रनमै आउट भए । १४ ओभर २ बलमै ८ विकेट गुमाउँदा नेपाल ९८ रन मात्रै बनाएर कमजोर अवस्थामा थियो । अन्तिममा नन्दन यादवले ३७ र बसिर अहमदले ८० रन बनाए पनि नेपाल जीतसम्म पुग्न सकेन ।
नेपालविरुद्ध अनुदीप चेन्थामाराले उत्कृष्ट इनिङ बलिङ गरे । उनले नेपालविरुद्ध ३ विकेट हात पारेका थिए । त्यसैगरी, यासिन पटेल, नविनराजले २-२ विकेट लिएका थिए । मोहम्मद सफिक र मोहम्मद असलमको नाममा एक-एक विकेट रह्यो ।
यसअघि हिजो हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । लिग चरणमा भने नेपालले कुवेतविरुद्ध सहज जित हात पारेको थियो ।