काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सले लगातार चौथो जित हाँसिल गरेको छ। आईपीएलको गएराति भएको २४औं खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरूलाई उसकै घरेलु समर्थकमाझ ६ विकेटले हराएको हो।
बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि बैंगलुरूले ब्याटिङ गरेको थियो। उसले २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो।
बैंगलुरूका लागि ओपनिङमा फिल साल्ट र विराट कोहली आएकोमा साल्ट ३७ रन बनाएर आउट भए। यद्यपी उनी आउट हुँदा बैंगलुरूले ६१ रन बनाइसकेको थियो। तर तेस्रो नम्बरका देवदत्त पडिक्कल भने एक रनमा नै बाहिरिए।
२२ रन बनाएका अर्को ओपनर विराटलाई विपराज निगमले आउट गरे। मोहित शर्माले लियम लिविनस्टोनलाई चार रनमै क्याचआउट गराए। चौथो विकेट गुमाउँदा बैंगलुरूको ९१ रन भएको थियो। कप्तान रजत पतिदारले २५ रनको योगदान दिएका थिए।
उनलाई कुलदिप यादवले राहुलको हातबाट क्याचआउट गराए। अन्तिममा टिम डेविडले ३७ रन बनाएर बैंगलुरूको लागि एक सय ६३ रनका खडा गरेका थिए। बैंगलुरूमाथि दिल्लीका बलरले दबाब बनाएर खेले। जहाँ विपराज निगम र कुलदिपले समान २-२ विकेट लिएका थिए। मुकेश कुमार र मोहित शर्माले एक-एक विकेट आफ्नो नाममा लेखाए।
जवाफमा एक सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले चार विकेट गुमाएर १७ ओभर पाँच बलमा लक्ष्य पुरा गर्यो। दिल्लीका शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भए। फाफ डु प्लेसिस २, ज्याक फ्रेजर र अभिषेक पोरेल समान ७-७ रनमा आउट भए।
तीन विकेट गुमाउँदा दिल्ली तीन विकेट गुमाएको कमजोर अवस्थामा थियो। तर केएल राहुलले दिल्लीलाई जीवन दिए। उनले ५३ बलमा अविजित रहँदा ९३ रन को योगदान गरे। त्यसक्रममा उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए।
कप्तान अक्षर पटेल १५ रनमा आउट भएपनि ट्रिस्टन स्टब्सले ३८ रन बनाएका थिए। बैंगलुरूका भुवनेश्वर कुमारले दुई विकेट लिए पनि दिल्लीलाई जित निकाल्नबाट रोक्न सकेनन्।
जारी लिगमा अपराजित दिल्ली लगातार चौथो खेल जित्दै ८ अंक बनाएर लिग तालिकाको दोस्रो स्थानमा छ। सामान ८ अंक बनाएको गुजरात रन रेटको आधारमा शीर्षस्थानमा छ। यता पाँचमध्ये ३ खेल जितेको बैंगलुरुले ६ अंक बनाएको छ। ऊ तेस्रो स्थानमा छ।
यी दुबै टिमबीच आइपीएलमा अहिलेसम्म ३३ खेल भइसकेका छन् । जसमा बैंगलुरूले २० खेल जितेको छ भने १२ खेल दिल्लीले जितेको छ । एउटा खेल बिना नतिजा समाप्त भएको छ ।