काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को वर्तमान कार्यसमितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले मान्यता दिएको छ । एनओसीले आज एक सूचना जारी गर्दै आईओसीबाट मान्यता प्राप्त भएको पत्र आएको जानकारी दिएको हो ।
गत पुस १३ गते अनलाइनबाट गरिएको भनिएको एनओसीको निर्वाचन लामो समयसम्म विवादित बनेको थियो । साथै, आईओसी र ओलम्पिक काउन्सिल अफ एसियाले पनि मान्यता दिएको थिएन । तर आज आईओसीको सम्बन्ध विभागले एनओसीले गत हप्ता सम्पन्न विशेष साधारण सभाबाट गरिएका निर्णयहरूको औपचारिक रूपमा स्वागत गरेको बताएको छ ।
यसबारे एनओसीले चैत २८ गते आईओसीलाई पत्रचार गरेको थियो ।
यस्तै ओलम्पिक कमिटीको चुनावमा भाग लिन नपाएका चार खेल संघले सदस्यता पाएका छन् । रग्बी संघ सहितका चार संघले सदस्यता पाएपछि अदालतबाट मुद्दा फिर्ता लिएको रग्बी संघका महासचिव गोविन्द घिमिरेले बताए ।
गत चैत २८ गते एनओसीले चार सदस्यलाई सदस्यता दिएर साधारण सभामा सहभागी गराएको र संघहरूसँग कुनै विवाद नरहेको भन्दै आईओसीलाई पत्रचार गरेको थियो । त्यसको जवाफमा आईओसीले समितिलाई मान्यता दिएको पत्र पठाएको हो । उक्त साधारण सभा एसियाली ओलम्पिक परिषद्का महानिर्देशक हुसैन अल–मुसाल्लामको अनलाइन सहभागितामा सम्पन्न भएको कमिटीले जानकारी दिएको हो ।
आईओसीका निर्देशक जेम्स म्याकलियोडले पठाएको पत्रमा चैतको साधारण सभाबाट संशोधित विधानको पुष्टि तथा अनुमोदन साथै एनओसीको नयाँ नेतृत्वको निर्वाचन सम्बन्धी निर्णयलाई आईओसीले ध्यानपूर्वक लिएको उल्लेल छ । पत्रमा नयाँ निर्वाचित नेतृत्वले समावेशी र एकताबद्ध ढंगले सदस्यसँग काम गर्नुपर्ने र सम्बन्धित सरकारी निकायहरूसँग आपसी समझदारी, सम्मान र विश्वासका साथ सहकार्य गर्न अनुरोध गरेको छ ।