अमेरिकी सेनाले यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा हवाई आक्रमण गर्दा कम्तीमा ३८ जनाको मृत्यु

वैशाख ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी सेनाले यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा हवाई आक्रमण गर्दा कम्तीमा ३८ जनाको मृत्यु

काठमाडौं । अमेरिकी सेनाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हुथी आबद्ध अल मशिराह टिभीले उक्त आक्रमणमा अन्य १०२ जना घाइते भएको जनाएको छ । 

मृतकमा स्वास्थ्यकर्मी समेत परेको हुथीले जनाइएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले हुथीको इन्धन र राजश्वको स्रोतसँगको पहुँच तोड्न सो आक्रमण गरिएको दाबी गरेको छ ।

राष्ट्रपति डनल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाले यही मार्च १५ देखि हुथी विद्रोही लक्षित व्यापक हवाई र नौसैनिक आक्रमण सुरु गरेको हो । अमेरिकाले सुरु गरेको आक्रमणमा परी थुप्रै सर्वसाधारणले ज्यान गुमाएको भन्दै यमनमा यसको आलोचना हुने गरेको छ ।

अमेरिकाले भने हुथीहरूले रेड सी हुँदै आवात जावत गर्ने व्यापारिक जहाजमाथिको आक्रमण नरोक्दासम्म आफ्नो कारबाही नरोकिने चेतावनी दिँदै आएको छ ।

अक्टोबर २०२३ मा इजरायल-हमास युद्ध सुरु भए यता हुथी विद्रोहीले रेड सी र गल्फ अफ आदेन भएर आवत-जावत गर्ने इजरायल सम्बद्ध व्यापारिक जहाजमाथि आक्रमण सुरु गरेको थियो । उक्त आक्रमणका कारण थुप्रै व्यापारिक जहाज दुर्घटनाग्रस्त भएका थिए भने कतिपय जहाज कम्पनीहरूले बाध्यतावश यो मार्ग प्रयोग गर्नै बन्द गरेका थिए । यसअघि वैश्विक समुद्री व्यापारको करिब १५ प्रतिशत व्यापार यही समुद्रीमार्ग प्रयोग गर्दै हुने गरेको थियो ।