आईपीएल २०२५ : आज मुम्बई र हैदराबाद भिड्ने

जारी सिजन दुई टोली पहिलो पटक आमने समने
वैशाख ४, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : आज मुम्बई र हैदराबाद भिड्ने

काठमाडौं ।  इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को ३३औं खेल आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई घरेलु मैदानमा स्वागत गर्दैछ । वानखेडे स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ । जारी सिजन दुई टोली पहिलो पटक आमने समने हुन लागेका हुन ।

हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बईले ६ मध्ये २ खेल जित्दै ४ अंक जोडेको छ । प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबादले पनि ६ मध्ये २ खेल जित्दै ४ अंक जोडेको छ । दुबै टोली आफ्नो अन्तिम खेल जितेर पुनः लयमा फर्किएका छन् । उनी हरू जितको लयलाई कायमै राख्ने लक्ष्यमा हुने छन् ।

७ सिजनसम्म मुम्बईको लागि खेलेका ईशान किशन आज हैदराबादको तर्फबाट आफ्नै पूरानो टोलीविरुद्ध खेल्नेछन् । मुम्बईले मेगा अक्सनमा उनलाई रिटेन नगरेपछि हैदराबादले उनलाई ११ दशमलव २५ करोड भारतिय रुपैयाँमा आफ्नो टिममा सामेल गरेको थियो ।

मुम्बईले अघिल्लो खेलमा सूर्यकुमार यादव र तिलक वर्मालाई शीर्ष चारमा राखेको थियो । यदि त्यही संयोजन दोहोर्याइयो भने, विल ज्याक्सको सट्टामा बेवन ज्याकब्स वा कोर्बिन बोसलाई खेलाउने सम्भावना छ ।

हैदराबादले पञ्जाबविरुद्ध २४६ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो । टिमको ब्याटिङ राम्रो देखिएको छ । तर बलिङमा केही परिवर्तन हुान सक्छ । हैदराबादको पावरप्लेमा सबैभन्दा खराब इकोनमी रेट छ । 

 मुम्बईको ओपनिङ साझेदारी औसत मात्र २२ दशमलव १६ रहेकाले उसले राम्रो सुरूवात गर्न सकिरहेको छैन । मोहम्मद शमीले रोहित शर्मा र हार्दिकलाई आईपीएलमा ३-३ पटक आउट गरेका छन् भने बुमराहले अभिषेक शर्मालाई १७ बलमा २ पटक बाहिर पठाएका छन् । बुमराह टी-२० मा ३०० विकेट पूरा गर्न अब ४ विकेटले टाढा छन् ।

हैदराबाद र मुम्बईबीच अहिलेसम्म आईपीएलमा २३ खेल भएका छन् । तीमध्ये १३ खेल मुम्बईले जितेको छ भने १० खेल हैदराबादले आˆनो पक्षमा पारेको छ ।

वानखेडे स्टेडियममा यी दुई टोलीबीच हालसम्म ८ पटक भिडन्त भएको छ । जसमा ६ पटक मुम्बई विजयी भएको छ भने हैदराबादले २ खेल मात्र जित्न सकेको छ ।