प्रधानमन्त्रीद्वारा पुलचोक-गोन्द्राङ ६ लेन सडक उद्घाटन

वैशाख ५, २०८२ |राजु चौधरी
प्रधानमन्त्रीद्वारा पुलचोक-गोन्द्राङ ६ लेन सडक उद्घाटन

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन हाइवे अन्तर्गत भरतपुरको पुलचोक–गोन्द्राङ ६ लेन सडकखण्डको उद्घाटन गर्नुभएको छ । भरतपुर विमानस्थल गेट अगाडि रिबन काटेर प्रधानमन्त्री ओलीले सडकको उद्घाटन गर्नुभएको हो । 

उद्घाटनमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०४७ सालपछि देशमा जुन गतिमा विकास हुनुपर्ने हो त्यस अनुरूप नभएको स्वीकार गर्नुभयो । तर विकासले गति नै नलिएको कुराको भने खण्डन गर्नुभयो । 

प्रधानमन्त्री ओलीले देशमा सडक पूर्वाधारले धेरै प्रगति गरिसकेको भन्दै अन्य पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजावादी समूहलाई इंगित गर्दै देशको कानुन तोड्न खोज्ने, विध्वंश मच्चाउने र आपराधिक काम गर्ने कोही पनि कानुनभन्दा माथि हुन नसक्ने बताउनुभयो । यस्तै देश विकास गर्न दुई ठूला पार्टी मिलेर स्थिर सरकार बनाएको भन्दै उहाँले देश निर्माणमा विदेशी मुख ताक्न नहुने र आफ्नै स्रोत साधनबाट सबै मिलेर विकासलाई गति दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पछिल्लो समय जनतामा सडक बनाउने र भत्काउने काम मात्रै हुने गरेको भान परेको भन्दै अब नयाँ सडक पूर्वाधार बनाउँदा एकीकृत योजना सहित काम गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले सरकारले सडक पूर्वाधार निर्माणमा सरकारले तीव्रता दिएको बताउनुभयो । 

यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरको अग्रसरताले पुलचोक–गोन्द्राङ सडकखण्ड समयमै सम्पन्न हुन सकेको भन्दै विकासमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीसँग चितवनको विकासका लागि विभिन्न योजनामा बजेट दिन माग पनि गर्नुभयो । ६ किलोमिटर यस सडकखण्ड गत पुसमा निर्माणसम्पन्न भएको थियो । 

२०७७ साल माघमा प्रधानमन्त्री ओलीले नै यस सडकखण्डको शिलान्यास गर्नुभएको थियो ।

यस्तै प्रधानमन्त्री ओलीले आजै इच्छाकामना गाउँपालिकाको नवनिर्मित भवन र नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो महाधिवेशनको समेत उद्घाटन गर्नुभएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।