काठमाडौं । हङकङमा चार देश सम्मिलित टी-२० आई शृंखला खेल्न जाने नेपाली सिनियर पुरुष टोलीको आज विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नेपाली टोलीको विदाई गरेको हो । शृंखलाका लागि टिम आज राति ११ बजे हङकङका लागि प्रस्थान गरेको छ ।
क्यानका उपाध्यक्ष रोशन सिंहले विदाई गर्दै जितको शुभकामना दिएका छन्। नेपाल क्रिकेट संघ क्यानले सिनियर टिमको मुख्य प्रशिक्षकमा स्टुवर्ट ललाई अनुबन्ध गरेको भए पनि उनी नेपाल आइसकेका छैनन् ।
उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले टिमको प्रशिक्षण गर्नेछन्। छोटो समयको तयारी गरेर नेपाल हङकङ जान लागेको हो । त्यहाँ नेपालले कतार, कुवेत र हङकङको सामना गर्नेछ। यो सिरिज आउँदा प्रतियोगिताको तयारी रहनेछ भने नेपालको लक्ष्य सिरिज जित्ने छ। यो प्रतियोगिताबाट सबै टिमले विश्वकप तयारीमा ध्यान दिने प्रशिक्षक मल्लको भनाइ छ।
नेपालले चैत २७ गते कतार, २८ गते कुवेत र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टिमबीच चैत ३१ गते फाइनल हुनेछ ।