काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले लगातार तेस्रो जित हात पारेको छ । सिजनको आफ्नो पहिलो खेलमा हार बेहोरेको गुजरातले त्यसपछि लगातार तेस्रो जित निकाल्ने क्रममा सनराइजर्स हैदराबादलाई ७ विकेटले सहजै पराजित गरेको हो । हैदराबादको भने यो लगातार चौथो हार हो ।
राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोजेपछि सुरुआतमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन जोड्यो । दुवै ओपनरलाई सस्तैमा गुमाएको हैदरबादको सुरुआत खराब रहृयो । ट्राभिस हेड ८ र अभिषेक शर्मा १८ रन बनाएर आउट भए । इशान किशन पनि १७ रन मात्र बनाउन सके । हेनरिक क्लासेन र नितीशकुमार रेड्डीले चौथो विकेटको लागि ५० रनको साझेदारी गरे । हेनरिक २७ रनमा आउट भए । नितीश ३१ रनमा पभिलियन फर्किए । कप्तान प्याट कमिन्सले ९ बलबाट अविजित २२ रन जोडे ।
हैदराबादका लागी मोहम्मद सिराजले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए । यो उनको आईपीएलको बेस्ट फिगर समेत हो । प्रसिद्ध कृष्ण र साई किशोरको नाममा समान २-२ विकेट रह्यो ।
जवाफमा १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । ओपनर साई सुदर्शन ५ र जोस बट्लर खाता नखोल्दै आउट भएपछि गुजरातको सुरुआत पनि कमजोर रह्यो । १६ रन जोड्दा दुई विकेट गुमाइसकेको गुजरातका लागि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटको रूपमा ९० रनको साझेदारी गरे ।
वासिङ्टन ४९ रन जोडेर मोहम्मद सामीको बलमा आउट भए । सेरफान रजरफोर्ड ३५ र शुभमन ६१ रनमा नटआउट रहे । हैदराबादका लागी मोहम्मद सामीले २ र प्याट कमिन्सले १ विकेट लिए ।
४ खेलमा गुजरातको यो तेस्रो जित हो । ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुछारमा रहेको सनराइजर्सको यो लगातरको चौथो हार हो । उसले ५ खेलबाट मात्र २ अंक बनाएको छ ।