मापदण्डविपरितका सवारी साधन सञ्चालन रोक्न प्रहरीले असहयोग गर्‍यो : यातायातमन्त्री

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मापदण्डविपरितका सवारी साधन सञ्चालन रोक्न प्रहरीले असहयोग गर्‍यो : यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मापदण्डविपरितका सवारी साधन सञ्चालन रोक्न नेपाल प्रहरीले असहयोग गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीले बढी ओभरलोडका गाडी गुड्न दिएर पैसा खाएको समेत उहाँको आरोप छ ।

कान्तिपुर टेलिभिजनले शनिबार पुराना सवारी साधन मापदण्डविपरीत सञ्चालन भइरहेको समाचार प्रसारण गरेपछि आज मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलमा मन्त्री दाहालले प्रहरीले पैसा खाएर त्यस्ता गाडी सञ्चालन हुन दिएको आरोप लगाउनुभएको हो ।

मन्त्री दाहालले सडक तथा यातायात विभागलाई गृह मन्त्रालयसँग समन्वय गरेर नियमविपरीत सञ्चालन भइरहेका पुराना सवारी साधन सञ्चालनमा रोक लगाउनेगरी मापदण्ड जारी गर्न समेत निर्देशन दिनुभयो । व्यवसायीहरुसँगको छलफलमा मन्त्री दाहालले काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतको कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

कार्यक्रममा सचिव केशवकुमार शर्माले दाउन्ने सडक खण्डमा भइरहेको निर्माणका कारण सवारी साधन सञ्चालन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाँले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई समय मिलाएर प्रवेश गराइएको जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.