नेपाली अन्डर नाइन्टिन टोली अफगानिस्तानसँग १ रनले पराजित

चैत्र २४, २०८१ |खेल ब्युरो
नेपाली अन्डर नाइन्टिन टोली अफगानिस्तानसँग १ रनले पराजित

काठमाडौं । नेपालसँगको अन्डर नाइन्टिन एकदिवसीय सिरिज अफगानिस्तानले जितेको छ । मूलपानी क्रिकेट मैदानमा आज नेपाललाई एक रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । १६९ रनको लक्ष्य पछ्याएको नेपाल १६७ रनमा समेटिएपछि लगातार दोस्रो खेलमा पनि पराजित भएको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । अफगानिस्तानका ओपनर उजाई-रुल्लाहा निजाई र खालिद अहमदजाईले २८ रनको मात्रै साझेदारी गर्न सके । तेस्रो नम्बरका फिसल सिनोद-जादा शून्यमा आउट भए । महबुब खानले ५८ रनको अर्धशतकीय पारी खेले । 

उनले ११४ बलमा एक चौका प्रहार गरेर ५८ रन बनाएका हुन् । नाजी फुल्लाहा अमेरीले १६ रनको योगदान गरे । खतिर स्थानिक-जाइले ११ रन बनाउँदा रोहुल्लाह अरबले २७ रनको योगदान गरे । यससँगै अफगानी टोलीले १६८ रन पूरा गरेको थियो । 

बलिङतर्फ नेपालका लागि सन्तोष यादवले सबैभन्दा उत्कृष्ट इनिङ्स खेले । उनले १० ओभरमा २३ रन मात्रै खर्च गरेर एक मेडनसहित तीन विकेट लिए । त्यसैगरी सिव्रन शर्माले दुई विकेट लिँदा बिपिन शर्माको नाममा समेत दुई विकेट रह्यो ।

जवाफमा नेपालले निकै राम्रो सुरुआत गर्यो । ओपनर निरजकुमार यादव १५ रनमा नै आउट भए पनि अर्का ओपनर साहिल पटेलले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ११९ बलमा ६ चौका प्रहार गरे । कप्तान नरेन भट्ट १३, सिब्रिन श्रेष्ठ २ र दिलसाद अली ८ रनमा आउट भएपछि एक समय नेपालले लगातार विकेट गुमाएको थियो । नेपालले मध्यक्रममा २६ रन जोड्दा तीन विकेट गुमायो । तर त्यसपछि अभिषेक तिवारीले २४ र ध्रुव सोनारले २१ रन बनाएपछि नेपाल खेलमा फर्किएको थियो । अन्तिम ओभरमा ध्रुवलाई रनआउट गराएर अफगानिस्तान विजयी भयो । 

नेपाल तीन बल बाँकी रहँदा सबै विकेट गुमाएर १६७ रनमा समेटिएको थियो । यो जितसँगै २-० को अग्रता बनाएको अफगानी टोलीले सिरिज जितेको हो । सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।