मेस्सीको गोलमा मायामीले खेल्यो बराबरी

चैत्र २५, २०८१ |खेल ब्युरो
मेस्सीको गोलमा मायामीले खेल्यो बराबरी

काठमाडौं । अमेरिकी मेजर लिग सकरमा इन्टर मायामी र टोरन्टो एफसीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदान चेज स्टेडियममा लियोनल मेस्सीले पूरै खेल खेलेका थिए । लुइस सुआरेज, जोर्डी आल्बा र सर्जियो बुस्केट्सलाई सुरुआती ११ मा राखे पनि मायामीले जित हासिल गर्न सकेन । 

मायामीका लागी मेस्सी र टोरन्टोका लागि फेडेरिको बेर्नाडेस्कीले पहिलो हाफमा १-१ गोल गरेका थिए ।

टोरन्टोले खेलको सुरुआतमा गोल गर्ने मौका पाएको थियो । तर १७ औं र १९ औं मिनेटमा थियो कोरबेनुले फिनिसिङ गर्न सकेनन् ।

२९ औं मिनेटमा सेगोभियाले गरेको गोललाई सुवारेज अफसाइडमा रहेको भन्दै खारेज गरिएको थियो । ३९औं मिनेटमा मेस्सीले लामो दूरीबाट गरेको गोल पनि भिडिओ समीक्षापछि फाउलको आधारमा खारेज गरिएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा लोरेन्जो इन्सिन्येले दिएको क्रसलाई बेर्नाडेस्कीले शानदार गोलमा परिणत गरेपछि भ्रमण टोलीले सुरुआती अग्रता बनाएको थियो ।

मेस्सीले मायामीका लागी तुरुन्तै जवाफी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा टेलास्को सेगोभियाले दिएको बललाई नियन्त्रणमा लिएर उनले टोरन्टोका गोलकिपर सीन जोनसनलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । यो मेस्सीको जारी सिजनको तेस्रो एमएलएस र सबै प्रतियोगिता गरेर छैटौं गोल थियो । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा १-१ अंकमा चित्त बुझाए । 

यस बराबरीसँगै मायामी ६ खेलमा ४ जितसहित १४ अंक जोडेर इस्टर्न कन्फ्रेन्सको दोस्रो स्थानमा छ । ७ खेलमा जितविहीन टोरन्टो यसै क्षेत्रको पुछारबाट दोस्रो स्थानमा छ । टोरन्टोको ३ अंक छ ।