काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको चौथो स्थानमा पुग्ने मौका गुमाएको छ । शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग निराशाजनक बराबरी खेलेपछि सीटी एक अंकमा चित्त बुझाउन बाध्य भयो । म्यानचेस्टर डर्बीमा दुबै टिमले गोलरहित बराबरी खेलेका हुन् ।
नटिङ्घम फरेस्ट, एस्टन भिलासँग २-१ ले पराजित गर्दा र चेल्सीले ब्रेन्टफोर्डसँग गोल रहित बराबरी खेल्दा जित हात पार्ने लक्ष्य सहित च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई मजबुत पार्न ओल्ड ट्राफोर्ड पुगेको सिटीले अपेक्षित नतिजा हात पार्न सकेन ।
पेप ग्वार्डियोलाको टोलीले युनाइटेडको रक्षापंक्ति विरुद्ध मौका बनाउन निकै संघर्ष गर्यो । पहिलो हाफमा फिल फोडेनको असफल प्रहार बाहेक कुनै उल्लेखनीय मुभ देखिएन । युनाइटेडका अलेहान्द्रो गार्नाचोले डिओगो डालोटको पासमा खाली पोस्टमा गोल गर्न सकेनन् । दोस्रो हाफको सुरुआतमा सिटीका लागि सबैभन्दा राम्रो मौका फोडेनले नै खेर फाले ।
ओमार मर्मुशको फ्रिकिक युनाइटेडका गोलकिपर आन्द्रे ओनानाले बचाउ गरे । गार्नाचोको पासमा जोशुआ जिक्रजेले फिनिस गर्न नसकेपछि युनाइटेडले सहज मैका खेर फाल्यो ।
यो बराबरीसँगै सिटी लिग तालिकामा पाँचौं स्थानमा छ । चेल्सीभन्दा एक अंकले पछाडि र एस्टन भिलाभन्दा एक अंकले अगाडि रहेको सीटीको ३१ खेलमा ५२ अंक छ । युनाइटेड समान खेलमा ३८ अंक सहित १३ औं स्थानमा छ । ऊ शीर्ष १० बाट अझै सात अंक टाढा छ ।