नेपाल बार एसोसिएनको मतगणना जारी : सत्ता पक्षीय गठबन्धनका उम्मेदवारहरुको अग्रता

चैत्र २५, २०८१ |किरण पौडेल
नेपाल बार एसोसिएनको मतगणना जारी : सत्ता पक्षीय गठबन्धनका उम्मेदवारहरुको अग्रता

काठमाडौं । नेपाल बार एसोसिएनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ ।

अध्यक्षमा सत्तापक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली कांग्रेस डीएलए गठबन्धनका उम्मेदवार विजयप्रसाद मिश्र अगाडि देखिनुभएको छ । आज गणना भएको १ हजार १ सय ६० मतमध्ये मिश्रले ७ सय ७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, विपक्षी गठबन्धन नेकपा माओवादी केन्द्रनिकट आरपीएलए र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठनको प्यानलका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले ४ सय ३४ मत प्राप्त गर्नुभएको छ । 

महासचिवमा पीपीएलए र डीएलए गठबन्धनबाट एमालेनिकट पीपीएलएका केदार कोइरालाको अग्रता छ । कोइरालाले ७ सय १२ मत प्राप्त गर्दा श्रेष्ठका प्यानलका महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ । 

सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । देशभर योग्य मतदाता ९ हजार ९ सय ९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९ सय ९५ मत खसेको थियो । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।