काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले पहिलो बराबरी खेलेको छ । दशरथ रंगशालामा आज साँझ सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थामा झापाले चितवनलाई १-१ गोलको बराबरीमा रोकेको हो ।
खेलको आठौं मिनेटमा टोरिक जेब्रिनको पासमा चितवनका शिशिर लेखीले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । झापाका अल्हारी गोरेले ११ औं मिनेटमा गरेको प्रहार भने जमैकन गोलकिपर अमल लाइटले बचाएका थिए । खेलको २८औं मिनेटमा चितवन अग्रता बनाउन सफल भयो । घानाका जेब्रिनले सिजनको दोस्रो गोल गरे । डिफेन्डर सुमित श्रेष्ठले बायाँबाट दिएको पासमा अन्जनको प्रहार झापाका डिफेन्डरबाट डिफ्लेक्ट भएपछि शिसिरले जेब्रिनलाई पास उपलब्ध गराएका थिए । सोही पासमा उनले गोल गरेका हुन् ।
४३ औं मिनेटमा झापाका रितिक खड्का अफसाइड भएपछि उसको एउटा अट्याक समाप्त भएको थियो । इन्ज्युरी समयमा झापाका ओभरसिज खेलाडी लाजारको फ्रि किक गोलकिपर अभिषेक लिम्बूले बचाएपछि पहिलो हाफमा चितवनले अग्रता कायम राखेको हो ।
दोस्रो हाफको ५८ औं मिनेटमा झापा गोलको निकै नजिक पुगेको थियो । छिरिङ लामाको क्रसमा चितवनका जोनाथन क्याम्पबेलले आफ्नै पोस्टमा प्रहार गर्न पुगे पनि बल बारमा लागेर फर्किएको थियो । सो बल अमलले बचाएपछि झापा फेरि बराबरी गर्न असफल भयो । त्यसपछि दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे । खेलको अन्तिम समयमा झापाले लगातार अट्याक बनाएको थियो । ८२ औं मिनेटमा अविनाशको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । लाजार अर्सिकको प्रहार समेत बाहिरिँदा खेल चितवनको पक्षमा पुग्नै लागेको थियो ।
तर स्टपेज समयमा झापाले पेनाल्टी पायो । चितवनका निरज चौधरीले आरोन थापालाई बबक्सभित्र लडाएपछि झापाले पेनाल्टी पाएको हो । पेनाल्टीमा अल्हाजी गेरोले गोल गरेर झापालाई हारबाट जोगाएका हुन् । जारी एनएसएलमा झापाको यो पहिलो गोल समेत हो । बराबरीका बाबजुद ७ अंक बनाएको चितवन शीर्षस्थानमा छ । झापाले तीन खेलबाट तीन अंक नै बनाएको छ । एनएसएलमा भोलि खेल हुने छैन । मंगलबार काठमाडौंले बुटबल लुम्बिनी एफसीको सामना गर्नेछ ।