काठमाडौं । फुलहमसँग ३-२ ले पराजित भएपछि लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा १४ अंकको अग्रता बनाउने मौका गुमाएको छ । क्रेभेन क्याटेजमा फुलहमले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
आर्ने स्लटको टोलीलाई चकित पार्न फुलहमले प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रामा ब्रेक लगायो । एलेक्सिस म्याक एलिस्टरले खेलको १४ औं मिनेटमा लामो दूरीबाट शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि फुलहमले उत्कृष्ट पुनरागमन गर्यो ।
२३ औं मिनेटमा रयान सेसेन्योनले कर्टिस जोन्सको ब्लकबाट आएको बलमा भलि प्रहार गर्दै खेल बराबरी गरे । १० मिनेटपछि एलेक्स इवोबीले लिभरपुलको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरे । ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरेपछि पहिलो हाफको समाप्तिमा घरेलु टोलीले ३-१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा लिभरपुलले केही सुधारिएको प्रदर्शन गर्यो । विकल्प खेलाडी लुइस डियाजले ७२ औं मिनेटमा गोल गर्दै लिभरपुलको जितको आशा जगाए । तर अन्त्यसम्म लिभरपुलले थप गोल गर्न नसक्दा बराबरी पनि सम्भव भएन ।
यस हारका बावजुद लिभरपुल अझै पनि आर्सनलभन्दा ११ अंकले अगाडि छ । ३१ खेलमा ७३ अंक जोडेको लिभरपुललाई लिग जित्न ११ अंक मात्र आवश्यक छ । जित पछि फुलहम तालिकाको आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ४८ अंक जोडेको फुलहमले युरोपियन प्रतियोगिताका लागि आफ्नो सम्भावनामा थप बलियो बनाएको छ ।