काठमाडौं । ६ दशकभन्दा बढी समय सक्रिय पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार भैरव रिसालको हिजो निधन भयो । २०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता सुरु गरेका रिसालले ९७ वर्ष लाग्दासम्म रेडियो कार्यक्रम चलाइरहनुभएको थियो । समाचार लेखेकै कारण जेल सजायसमेत भोग्नुभएका रिसाल आफूलाई सधैं रिपोर्टर नै ठान्नुहुन्थ्यो र सबै पत्रकारका प्रेरणा स्रोत बनिरहनुभयो ।
पत्रकारिता कर्म गरेर जीवनभर चर्चामा रहनु भएका भैरव रिसाल पछिल्लो समय नेपाल सरकारले लिपुलेक लिम्पियाधुरा सम्मिलित राजनीतिक नक्शा जारी गरेपछि त्यो भुभाग नेपालको हो भन्ने जिउँदो साक्षी हुनुहुन्थ्यो । उहाँले २०१८ सालमा त्यहाँ गएर जनगणना गराउनु भएको थियो ।
१९८५ साल साउन २९ गते भक्तपुरको ताथली जन्मिनुभएका भैरव रिसालले २०१३ सालमा हालखबर पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएको थियो । त्यो बेलाको १ सय रुपैयाँ तलबका बारेमा उहाँले धेरै पत्रकारलाई किस्सा सुनाउनु हुन्थ्यो । सदैव हँसिलो र जोशिलो रहने रिसालको हालखबरबाट सुरु भएको पत्रकारिता यात्रा जीवनपर्यन्त जारी रह्यो ।
रिसालसँग संगत गर्नु भएका र सँगै काम गर्नु भएका वरिष्ठ पत्रकार तीर्थ कोइराला भन्नुहुन्छ, 'उहाँ राजनितिक रुपमा एक्टिभिस्ट त हैन, पत्रकारीतामा नै हो उहाँ । तर, विचारको हिसावले उहाँ बामपन्थी विचार राख्नुहु्न्थ्यो, नेमकिपासँग नजिक हुनुहुन्थ्यो । मजदुर भन्ने पत्रिकामा उहाँले बिरामी पर्दा पनि कोलम लेख्नुभएको छ । तर, सँगसँगै पत्रकारितामा उहाँको योगदान ठूलो छ । हाम्रो रेडियो सगरमाथामा उहाँले 'उहिले बाजेको पालामा' भन्ने प्रोगाम धेरै वर्ष चलाउनुभयो ।'
लोकसेवाबाट शाखा अधिकृतमा नाम निकालेर पनि जागिर खान नपाएपछि परिवार चलाउनुपर्ने बाध्यताका कारण हालखबरमा काम गर्न पुग्नुभएको थियो उहाँ । तर, सरकारी जागिर खाने चाहना छँदै थियो । २०१८ सालको जनगणनामा अस्थायी सेक्सन अफिसर बनेर कालापानी-लिपुलेक लिम्पियाधुरा क्षेत्रमा खटिनुभएको थियो । नेपाल र भारतबीच कालापानी विवाद चलिरहँदा इतिहासका साक्षी उहाँको अनुभव धेरैले सुने । उहाँ राष्ट्र र समाजका बारेमा बढी चिन्तन गरिरहनु हुन्थ्यो ।
भैरव रिसालकी छोरी सुष्मा रिसाल सापकोटा बुवालाई सम्झिँदै भन्नुहुन्छ, 'उहाँले राष्ट्रका लागि पनि धेरै गर्नुभयो जस्तो लाग्छ । परिवारभन्दा पनि उहाँले जहिले पनि समाज र राष्ट्रलाई सोच्नुहुन्थ्यो । छोराछोरी कति क्लासमा पढ्छन् उहाँलाई थाहा हुँदैनथ्यो । फलानोको छोरीले पढ्न पाएको छैन, त्यसलाई कसरी पैसा जम्मा गर्दिने, कसरी उसको शिक्षालाई अगाडि बढाउने भन्नेमा बढी चिन्ता गर्नुहुन्थ्यो ।'
तथ्यांक विभागको २६ महिने अस्थायी जागिर सकिएपछि उहाँले २०२० सालदेखि राष्ट्रिय समाचार समितिमा रिपोर्टिङको जागिर सुरु गर्नुभयो । २ सय २५ रुपैयाँ प्रतिमहिना तलबमा सुरु गर्नुभएका उहाँ राससमा झन्डै २२ वर्ष काम गर्दा चिफ रिपोर्टरसम्म बन्नुभयो ।
४० को दशकपछि उहाँ वातावरण पत्रकार समूहमा पनि आबद्ध रहेर सक्रिय पत्रकारिता गर्नुभयो । एकपटक- 'एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगी खाने भाँडो' शीर्षकको लेख लेख्दा १० महिना जेल पनि पर्नुभयो । उहाँको जेल जीवन सुन्दा अहिले हामीले पाएको बोल्ने र लेख्ने स्वतन्त्रताको मूल्य थाहा हुन्छ ।
७१ वर्षको छँदा रेडियो सगरमाथामा सुरु गरेको 'कुरो कन्थो' कार्यक्रम निकै लोकप्रिय भयो, जसलाई उहाँले ९७ वर्षको उमेरमा टेक्दासम्म चलाइरहनुभयो । जगदम्बाश्री लगायतयका पुरस्कारबाट सम्मानित उहाँका 'उहिले बाजेका पालामा, सुशीला-भैरव, बितेका कुरा' लगायतका पुस्तक प्रकाशित छन् । उहाँले २०६८ सालमै शरीर दानका लागि मञ्जुरी दिनुभएकाले निधनपश्चात उहाँको शरीर पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ ।