काठमाडौं । बार्सीलोनाले, स्पेनिस ला लिगामा चीर प्रतिद्धन्दी रियाल मड्रिड सँग तीन अंकको अग्रता बनाएको छ । गएराती भएको खेलमा हान्जी फ्लिकको टिमले जिरोना माथि ४-१ गोलको सहज जित हात पारेको हो ।
ओलम्पिक स्टेडियममा बार्सीलोनाले ४३औं मिनेटमा आत्मघाती गोल मार्फत अग्रता लिएको थियो । क्याटलान प्रतिद्धन्दी जिरोनाका लाडिस्लाभ क्रेचीले आफ्नै पोस्टमा गोल गरेका हुन् । ५३ औं मिनेटमा आनाथ डान्जुमाले गोल गर्दै खेल १-१ को बाराबरीमा पुर्याएका थिए ।
६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले , फेर्मिन लोपेजको सहयोगमा गोल गरेपछि बार्सीलोनाले खेलमा पुनः अग्रता कायम गरेको हो । ७७औं मिनेटमा पोलिस फरवार्डले ब्यक्तिगत दोस्रो गोल गर्दा सब्सिच्युट फ्राङकी डि योङले बल उपलब्ध गराएका थिए । लेवान्डोस्कीको यो सिजनको २५औं ला लिगा गोल हो ।
८६औं मिनेटमा फरान टोरेसको गोल सँगै बार्सीलोनाले खेल टुंग्यायो । बार्सीलोनाले ला लिगाका आफ्ना पछिल्ला नौ खेलमा जित हात पारेको छ । आगामी बुधबार उसले कोपा डेल रे सेमीफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिड सँग प्रतिस्पर्धा गर्दैछ ।
ला लिगा तालिकामा शीर्ष स्थानमा रहेको बार्सीलोनाको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको रियालको ६३ अंक छ । १३ औं स्थानमा रहेको जिरोनाको ३४ अंक छ ।