आईपीएलमा मुम्बई इण्डियन्सको पहिलो जित

चैत्र १९, २०८१ |खेल ब्युरो
आईपीएलमा मुम्बई इण्डियन्सको पहिलो जित

काठमाडौं । बलरहरूले सानदार प्रदर्शन गरेपछि पाँच पटकको च्यम्पियन मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आईपीएलममा पहिलो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको हो ।

डेब्यू खेलमै अश्विनी कुमारले सानदार बलिङ प्रदर्शन गरे भने रायन रिकल्टनले अर्धशतकीय योगदान दिए । मुम्बईको वान्खडेमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै एक सय १६ रनमा समेटियो ।

कोलकाताका लागि ओपनर सुनिल नारायणले खाता खोल्नै नसक्दा अर्का ओपनर क्वीन्टन डी कक एक रनमा बाहिरिए । कप्तान अजिक्या राहाणेले ११ रन मात्र बनाउन सके । वेंकटेस अय्यर ३ रनमा आउट भए । 

अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । मनिष पाण्डे १९, आन्द्रे रसेल ५ र रिंकु सिंह १७ रनमा पभेलियन फर्किए । रमनदीप सिंहले २२ रनको योगदान गरे । 

मुम्बईका लागि अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए । आईपीएलमा उनको यो डेब्यू खेल थियो । दीपक चहारले २ विकेट हात पारे । मिचेल सान्टनर, हार्दिक पाड्ण्या र विग्नेस पथुरले समान एक-एक विकेट विकेट लिए ।

जवाफमा मुम्बईले १२ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । १३ रन बनाएका पूर्वकप्तान रोहित शर्मा यस खेलमा पनि चल्न सकेनन् । विल ज्याक्सले १६ रन बनाए । 

रायन रिकल्टन ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ रनमा अविजित रहे । सूर्यकुमारले नटआउट २७ रन जोडे । कोलकाताका लागि दुवै विकेट आन्द्रे रसेलको नाममा रह्यो । 

यससँगै १८औँ संस्करणको आईपीएलमा सुरुका दुई खेलमा हारपछि मुम्बईले जित हात पार्दै २ अंक जोडेको छ । ऊ तालिकाको छौटौँ स्थानमा उक्लिएको छ । समान खेलमा २ अंकसहित कोलकाता लिगको पुछारमा छ ।