काठमाडौं । बर्नमथविरुद्ध एफए कपको क्वार्टरफाइनल खेलमा घुँडाको चोट बोकेका म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डको थप परीक्षण आवश्यक रहेको बताइएको छ ।
सिटीले हालान्डको चोटबारे जानकारी दिँदै थप परीक्षण आवश्यक रहेको बताएको हो । आइतबार भएको खेलमा हालान्डले सिटीका लागि उत्कृष्ट प्रदर्शन गर्दै बराबरी गोल फर्काएका थिए । तर ६१औँ मिनेटमा चोटग्रस्त भएपछि मैदानबाट बाहिर जानुपरेको थियो ।
उनको बायाँ खुट्टामा चोट लागेको थियो । सोही कारण हालान्डले अप्रिलको अन्त्यतिर हुने नटिङ्घम फरेस्टविरुद्धको सेमिफाइनल खेल गुमाउने सम्भावना छ । एफए कपको सेमिफाइनलमा सीटी र नटिङ्घम अप्रिल २६ मा आमनेसामने हुँदैछन् ।
हालान्डले यो सिजन प्रिमियर लिगमा २८ खेल खेल्दै २१ गोल गरेका छन् । चार पटकको डिफेन्डिङ च्याम्पियन सिटी लिग तालिकाको पाँचौँ स्थानमा छ । सिटीले बिहीवार लेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्नेछ ।