चेल्सीलाई एक सय २८ मिलियन पाउन्ड नाफा

चैत्र १९, २०८१ |खेल ब्युरो
चेल्सीलाई एक सय २८ मिलियन पाउन्ड नाफा

काठमाडौं । इंग्लिस क्लब चेल्सीले यो वर्ष एक सय २८ दशमलव ४ मिलियन पाउन्ड नाफा कमाएको छ । जुनमा समाप्त हुने आर्थिक वर्षअघि चेल्सीले उक्त आम्दानी गरेको जनाएको हो ।

महिला टिमको पुनर्संरचनाका कारण चेल्सीले ठुलो नाफा आर्जन गरेको रोयटर्सले जनाएको छ । टोड बोह्ली नेतृत्वको समूहको स्वामित्वमा पहिलो वर्ष ९० दशमलव १ मिलियन पाउन्ड घाटा बेहोरेको क्लबले यस वर्ष भने मुनाफा कमाएको हो । 

चेल्सीको महिला टोली गत जुनमा एफसी होल्डिङ्स लिमिटेडबाट ब्लुको स्वामित्वमा आएको थियो । त्यसपछि क्लबको वित्तीय हिसाबबाट चेल्सी विमेन्सको घाटा हटाइएको थियो । 

क्बललाई सहायक कम्पनी बिक्रीबाट एक सय ९८ दशमलव ७ मिलियन पाउन्ड तथा खेलाडी बिक्रीबाट एक सय ५२ दशमलव ५ मिलियन पाउन्ड नाफा भएको छ । 

पुरुष टिमले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा नगरेकाले क्लबको कुल आम्दानी पाँच सय १२ दशमलव ५ मिलियन पाउन्डबाट घटेर चार सय ६८ दशमलव ५ मिलियन पाउन्डमा झरेको छ । 

तर, प्रिमियर लिगमा छैटौँ स्थान हासिल गर्नु,कप प्रतियोगितामा राम्रो प्रदर्शन, प्रसारण आम्दानीको वृद्धि, सञ्चालन खर्च कटौतीका साथै व्यावसायिक र म्याचडे आम्दानीले क्लबलाई आर्थिक रूपमा केही राहत दिएको छ ।