आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै

चैत्र १९, २०८१ |खेल ब्युरो
आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग-आईपीएलको १३औँ खेलमा आज लखनऊ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल लखनऊको अटल बिहारी वाजपेयी स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

लखनऊको यो तेस्रो प्रतिस्पर्धा हो भने पञ्जाबको दोस्रो । पञ्जाबले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो । लखनऊ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएपनि दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै पुनरागमन गरेको छ ।

आईपीएल इतिहासमा लखनऊ र पञ्जाबबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा लखनऊले ३ पटक जित दर्ता गरेको छ भने पञ्जाबले एक खेल आफ्नो पक्षमा पारेको छ ।

निकोलस पुरन लखनऊका मुख्य ब्याट्सम्यान हुन् । उनले हैदराबादविरुद्ध २६ बलमा ७० रन बनाएका थिए भने दिल्लीविरुद्ध ७५ रनको उत्कृष्ट योगदान गरेका थिए । शार्दुल ठाकुर लखनऊका टप विकेट टेकर हुन् । उनले दिल्लीविरुद्धको खेलमा २ विकेट लिएका थिए भने हैदराबादविरुद्ध ४ विकेट आफ्नो नाममा पारेका थिए ।

पञ्जाबका कप्तान श्रेयस अय्यरले गुजरातविरुद्धको खेलमा ४२ बलमा ९७ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङतर्फ अर्शदीप सिंहले टप प्रदर्शन गरेका छन् ।

इकाना स्टेडियमको पिच बलरमैत्री मानिन्छ । स्पीनरहरुलाई यहाँ बढी फाइदा हुने गरेको छ । यस मैदानमा हालसम्म १४ आईपीएल खेल भएका छन् । यो मैदानमा पहिले ब्याटिङ गर्ने टिमले ७ खेल जितेको छ भने पहिला बलिङ गर्ने टोलीले ६ खेल जितेका छन् । एक खेल रद्द भएको थियो ।