काठमाडौं । स्पेनिस लिग ला-लिगामा सेल्टा भिगो र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति सम्पन्न खेलमा दुवै टिमले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु मैदानमा सेल्टा भिगोले अल्फान्सो गोन्जालेजको गोलमार्फत् सुरुवाती अग्रता बनाएको थियो । गोन्जालेजले पहिलो हाफको अतिरिक्त समयमा डेडलक तोडेका थिए । लस पल्मसले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ५८औँ मिनेटमा अल्बर्टो मोलेरोले गोल गरेपछि खेल बराबरी भएको थियो ।
यससँगै सेल्टा भिगोले २९ खेलमा ११ जित र ७ हारसहित ४० अंक जोडेको छ । सेल्टा भिगो तालिकाको आठौँ स्थानमा उक्लिएको छ । लस पल्मस रेलिगेसन जोनमा छ ।
समान खेलमा ६ जितसहित २६ अंक जोडेको लस पल्मस पुछारबाट दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ६६ अंक छ भने समान खेलमा ६३ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ ।