बर्नमाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी एफ ए कपको सेमीफाइनलमा प्रवेश

चैत्र १८, २०८१ |खेल ब्युरो
बर्नमाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी एफ ए कपको सेमीफाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी, बर्नमाथि २-१ गोलको पुनरागमन जित हात पार्दै एफ ए कपको सेमीफाइनल प्रवेश गरेको छ ।

भिटालिटी स्टेडियममा घरेलु टिम विरुद्ध सिटीका अर्लिङ हालान्डले पेनाल्टि मार्फत अग्रता लिने सुनौलो अवसर गुमाएका थिए । १४ औं मिनेटमा बर्नमथका टेलर एडम्सबाट ह्यान्ड बल भएपछि सिटीलाई पेनाल्टि प्रदान गरिएको थियो । तर हालान्डले प्रहार गरेको पेनाल्टिलाई बर्नमथका गोलकिपर केपाले बचाए । २१ औं मिनेटमा सिटी १-० गोलले पछि पर्यो । बर्नमथका लागि इभानिल्सनले गोल गरेका हुन् । पहिलो हाफमा मौका पाएपनि सिटीले बर्नमथको इन्टेन्सिटी विरुद्ध आफ्नो रिदम मिलाउन संघर्ष गर्यो ।

ब्रेकपछि प्रशिक्षक पेप ग्वार्डिवालाले डिफेन्डर अब्दुकोडिर खुसानोभको स्थानमा २० वर्षिय मिडफिल्डर निको ओ राइलीलाई मैदान प्रवेश गराए । ग्वार्डिवालाको सब्सिच्युटसनले सिटीका लागि जादुको काम गर्यो । उनको उत्कृष्ट क्रसमा हालान्डले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । ६१ औं मिनेटमा हालान्ड चोटग्रस्त हुँदै मैदान बाहिरिए ।

उनलाई इजिप्टका स्ट्राइकर ओमार मारमुसले प्रतिस्थापन गरे । ६३ औ मिनेटमा ओमारले गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए । उनका लागि पनि राइलीलेनै पास दिएका थिए । यहि नतिजा सिटीका लागि सेमीफाइनलमा नटिङगम फरेस्ट सँगको भेट पक्का गर्न पर्याप्त भयो । यो सँगै सिटीको सिजनमा उपाधि जित्ने आशालाई पनि जीवीतै राखेको छ । सन २०१६-१७ को सिजनमा सिटीको प्रशिक्षकका रुपमा डेब्यु गरेयता ग्वार्डिवाला सिजनमा उपाधि विहिन भएका छैनन् ।