आइपिएलः यस सिजनमा राजस्थान रोयल्सको पहिलो जित, चेन्नई ६ रनले पराजित

चैत्र १८, २०८१ |खेल ब्युरो
आइपिएलः यस सिजनमा राजस्थान रोयल्सको पहिलो जित, चेन्नई ६ रनले पराजित

काठमाडौं । नितिश राना र वानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले सिजनको पहिलो जित हात पारेको छ । गएराती भएको खेलमा राजस्थानले चेन्नई सुपर किंसलाई ६ रनले पराजित गरेको हो । महेन्द्र सिंह धोनी सम्मिलत टिमको यो लगातार दोस्रो हार हो ।

गुवाहटी स्थित बरसापारा क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो । राजस्थानले २० ओभरमा नौ विकेट गुमाउदै १ सय ८२ रनको योगफल बनाएको थियो ।

ओपनर यसशस्बी जैसवाल यो खेलमा पनि चलेनन् । उनी मात्र चार रनमा खलिल अहमदको बलमा आउट भए । दोस्रो विकेटका लागि संजु सामसन र नितिशले ८२ रनको साझेदारी गर्दै इनिङस सम्हाले । संजु २० रनमा मैदान बाहिरिए । नितिशले रविचन्द्र आश्विनको बलमा विकेट किपर धोनी बाट स्टम्पिङ हुनु अघि ८१ रनको योगदान गरे । उनले ३६ बलमा १० चौका र पाँच छक्का प्रहार गरेका थिए ।

मध्यक्रमका ब्याटर भने लामो समय क्रिजमा टिक्न सकेनन् । ध्रुव जुरेल ३ र हसरंगा ४ रनमा आउट भए । कप्तान रियान परागले ३७ रन जोडे । सिमरोन हिटमायरले १९ रन थपे । खलिल अहमद, नुर अहमद र मथिसा पाथिरानाले २/२ विकेट लिए । आश्विन र रविन्द्र जडेजाले १/१ विकेट बाडे । जवाफमाचेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७६ रन मात्र बनाउन सक्यो ।

र्फममा रहेका ओपनर रचिन रविन्द्रलाई जोफ्रा आर्चरले शुन्यमा पभेलियन फर्काउदै राजस्थानलाई राम्रो सुरुवात दिलाएका थिए । आर्चरको जारी आइपिएलमा यो पहिलो विकेट हो । अर्का ओपनर राहुल त्रिपाठीलाई हसरंगाले २३ रनमा रोके । शिवम दुबे पनि उनकै शिकार भए । दुबेले १८ रन बनाएका थिए । विजयी शंकर पनि हसरंगाकै बलमा ९ रनमा बोल्ड हुदा चेन्नई दबाबमा आयो । इनिङस सम्हाल्ने प्रयास गरेका कप्तान ऋतुराज गायकवाडलाइ हसरंगाले ६३ रनमा क्याच आउट गरेपछि राजस्थान जित तर्फ उन्मुख भएको थियो ।

चेन्नईलाई जितका लागि अन्तिम ओभरमा २० रन आवश्यक थियो । संदिप शर्माले यो ओभरको पहिलो बलमानै १६ रन बनाएका धोनीलाई आउट गरे । चौथो बलमा जेमी ओभरटनले छक्का प्रहार गर्दै आश जगाएका थिए । तर बाँकी दुई बलमा २/२ रन मात्र जोडेपछि राजस्थानले अंकको खाता खोलेको हो । जडेजा ३२ रनमा अविजीत रहे । हसरंगाले ३५ रन खर्चिएर चार विकेट लिए । आइपिएलमा आज मुम्बइ इन्डियन्स र कोलकाता नाइटर राइडर्स बीच खेल हुनेछ ।