स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि ४८ खेलाडी प्रारम्भिक प्रशिक्षणमा

चैत्र १८, २०८१ |खेल ब्युरो
स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि ४८ खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि प्रारम्भिक प्रशिक्षणमा ४८ खेलाडीलाई समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ -क्यानले आइतबार प्रारम्भिक टोलीमा अटाएका ४८ खेलाडीको नाम सावर्जनिक गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेंलो गरी ४ समूहमा विभाजन गरी अभ्यास खेलसहित तयारी गराइने छ ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरिएको क्यानको भनाइ छ । प्रारम्भिक टोलीमा राष्ट्रिय टिमका नियमित सदस्यसहित धेरै युवा खेलाडीले पनि स्थान बनाएका छन् ।

प्रारभिक टोलीले नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी गर्ने छ । अन्तिम टोली छनोटका लागि हुने अभ्यास खेलहरु चैत २७ मा हङकङमा हुने चार देश सम्मिलित सिरिज पछि हुने छन् । सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी हुने छन् ।

त्यसपछि नेपालले स्कटल्याण्ड भ्रमण गर्ने छ । त्यहाँ नेपालले घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को आफ्नो चौथो सिरिज खेल्नेछ । ८ टोली सम्मिलित लिग टुमा हालसम्म निकै खराव प्रदर्शन गरेको नेपाल १२ खेलमा २ जितसहित ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।