काठमाडौं । रोयल च्यालेन्सजर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग-आईपीएलमा लगातार दोस्रो जित हात पारेको छ। गएरातिको खेलमा उसले चारपटकको विजेता चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको हो।
घरेलु मैदानमा चेन्नईले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको लागि फेवरेट मानिने यो मैदानमा आरसीबीले पहिले ब्याटिङको निम्तो पायो। आरसीबीले २० ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। ओपनर फिल सल्ट र विराट कोहलीले राम्रो सुरुआत दिलाए।
उनीहरुले ४५ रनको साझेदारी गरे। १६ बलमै ३२ रन बनाएर सल्ट आउट भए भने कोहलीले ३१ रन जोड्न ३० बल खर्च गरे। त्यसैगरी देवदत्त पडिक्कलले २७ रन जोडे। यो सिजन कप्तानको जिम्मेवारी पाएका रजत पतिदरले ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३२ बलमा सात बाउन्ड्री प्रहार गरेर सो रन जोडेका हुन्। यसैगरी लिविनस्टोनले १०, जितेश शर्माले १२ तथा टिम डेविडले २२ रनको योगदान गरेका थिए।
चेन्नइका नुर अहमदले तीन विकेट लिएका थिए भने माथिसा पाथिरानाले दुई विकेट आफ्नो नाममा गरे। जवाफमा चेन्नइका कुनै खेलाडीबीच लामो साझेदारी बन्न सकेन। ८ रनमै पहिलो विकेट गुमाएको चेन्नईका खेलाडी मैदानमा टिक्नै गाह्रो भयो। राहुल त्रिपाठी ५, रितुराज गायक्वड शून्य, दीपक होडा ४ र साम कुरन ८ रनमा बाहिरिए।
शिवम् दुवेले पनि १९ रन मात्रै जोड्न सके। ओपनर रचिन रविन्द्रले ४१ रनको योगदान गरेका थिए भने रविन्द जाडेजाको ब्याटबाट २५ रन बन्यो। नवौं नम्बरमा मैदानमा आएका महेन्द्र सिंह धोनीले भने ३० रन प्रहार गरे । यससँगै चेन्नई ८ विकेट क्षतिमा एक सय ४६ रन मात्रै बनाउन सक्यो।
चेन्नईलाई लक्ष्यमा पुग्न नदिन जोश हेजलवुडले तीन विकेट लिएका थिए। उनले चार ओभरमा २१ रन मात्रै खर्च गरेर तीन विकेट गिराएका हुन्। यस दयाल र लियम लिविनस्टोनले पनि दुईदुई विकेट लिएका थिए। यो जितसँगै आरसीबीले लिगमा चार अंक बनाएको छ। आईपिएलमा आज गुजरात टाइटन्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ।