काठमाडौं । नोभाक जोकोभिच मायामी ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा सेबास्टियन कोर्डालाई सोझो सेटमा पराजित गर्दै जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।
यससँगै जोकोभिच आफ्नो १ सयौं करियर उपाधि जित्न मात्र दुई जित टाढा छन् । मायामी ओपनको क्वाटरफाइनलमा उनले सेबास्टियन कोर्डालाई ६-३ र ७-६ ले पराजित गरेका हुन् ।
जोकोभिचले म्याच पोइन्टमा एस प्रहार गर्दै जित सुनिश्चित गरेका थिए । जोकोभिचको जितसँगै उनका पूर्व प्रतिस्पर्धी र हालका प्रशिक्षक एन्डी मरे पनि उत्साहित बनेका थिए ।
२४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच दोस्रो सेटमा ५-२ ले पछाडि परे पनि सर्भ ब्रेक गर्दै पुनरागमन गरेका थिए । उनलाई शक्तिशाली सर्भिङले सेमिफाइनलसम्म पुर्याएको थियो ।
चौथो वरियताका जोकोभिच मायामी ओपनको कीर्तिमानी सातौं उपाधि र आफ्नो १०० औं करियर उपाधि जित्ने लक्ष्यसहित सेमिफाइनलमा १४ औं वरियताका बुल्गेरियाली ग्रिगोर दिमित्रोभसँग भिड्नेछन् ।