काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पौने ४ बजे सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई स्वागत गर्नेछ । दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएलको एल-क्लासिको मानिने मुम्बई र चेन्नईबीचको खेल एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । रुतुराज गायकवाडको कप्तानीमा रहेको चेन्नई ब्याटिङ र स्पीन बलिङमा सन्तुलित देखिन्छ ।
जसप्रीत बुमराहको अनुपस्थितिमा मुम्बईको बलिङ केही कमजोर देखिएपनि ब्याटिङमा भने बलियो छ । पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याले खेल्ने छैनन् । सूर्यकुमार यादवले टिमको कप्तानी सम्हाल्नेछन् ।
पाँच पटकको च्यम्पियन मुम्बई पनि चिरप्रतिद्वन्द्वी चेन्नईलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । आईपीएलमा दुवै टिमले ३७ पटक प्रतिस्पर्धा गर्दा मुम्बई २० खेल विजयी भएको छ भने चेन्नई ले १७ खेल आफ्नो पक्षमा पारेको छ ।
चेन्नईविरुद्ध रोहित शर्माले ८ सय ५ रन बनाइसकेका छन् । मुम्बईविरुद्ध महेन्द्रसिंह धोनीले ६ सय ७५ रन बनाएका छन् । बलिङतर्फ रविन्द्र जडेजाले मुम्बईविरुद्ध २० विकेट लिएका छन् । दीपक चाहरले १३ एवं रविचन्द्र अश्विनले १२ विकेट लिएका छन् । चेन्नईले मुम्बईविरुद्ध पछिल्ला ५ खेलमध्ये ४ मा जित हात पारेको छ ।