आईपीएलको १८औं संस्करण आजबाट, कोलकाता र बैंगलुरु भिड्दै

आईपीएलको पुरै सिजन कान्तिपुर म्याक्स एचडीमा प्रत्यक्ष प्रसारण हुने
चैत्र ९, २०८१ |खेल ब्युरो
आईपीएलको १८औं संस्करण आजबाट, कोलकाता र बैंगलुरु भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औं संस्करण आज भारतमा सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स, केकेआरले बैंगलुरु नाइट राइडर्सको सामना गर्नेछ। कोलकातामा हुने यो खेल खेलमा दुवै टिम विजयी सुरुआतको लक्ष्यमा छन्।

गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराएर कोलकाताले उपाधि जितेको थियो। यता आरसीबीले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन्। केकेआर र आरसीबीबीचको यसअघि आईपीएलमा ३५ खेल भएका थिए। त्यसमध्ये २१ खेल कोलकाताले जितेको छ भने १४ खेलमा आरसीबी विजयी भएको थियो।

इडन गार्डेन रंगशालामा भने यी दुई टोलीबीच १२ खेल हुँदा घरेलु टोली ८ पटक विजेता भएको छ। यसरी हेर्दा आजको खेलमा पनि जितको सम्भावना केकेआरको धेरै देखिन्छ। त्यसमाथि केकेआरसँग विश्वस्तरीय अलराउन्डर सुनील नरेन, वरुण चक्रवर्ती, अजिंक्य रहाणे जस्ता खेलाडी छन्।

श्रेयस अय्यर बाहिर रहे पनि केकेआरसँग प्रतिभाको कमी हुने छैन। आन्द्रे रशेल, रमनदीप सिंह र वेंकटेस अय्यर पनि केकेआरका उत्कृष्ट खेलाडी हुन्। बैंगलुरुसँग आईपीएलका स्टार ब्याटर छन्। कोहली आफैँ पनि आईपीएलको ओरेन्ज क्यापको लागि सबैभन्दा रुचाइएका खेलाडी हुन्। उनलाई यश दयालले साथ दिनेछन्।

गजबका ब्याटर रहे पनि बंगलुरूले बलिङमा जहिल्यै संघर्ष गर्नुपरेको छ। यो वर्ष भने बैंगलुरूसँग जोश हेजलवुड, भुवनेश्वर कुमारजस्ता म्याच विनर खेलाडी छन्।

क्रुणल पण्ड्या टिमको अनुभवी स्पिनर रहे पनि स्पिनरको भने अझै अभाव देखिन्छ। यो मैदान ब्याटिङमैत्री रहेको कारण आजको खेल उच्च स्कोरको हुनसक्ने अनुमान छ। कोलकातामा आज दिनभरि बादल लाग्ने प्रक्षेपण रहेको कारण यो खेललाई प्रभाव पार्न सक्ने सम्भावना छ। आईपीएलको पुरै सिजन कान्तिपुर म्याक्स एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ।