काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्णपदक विजेता विप्लवलाल श्रेष्ठले नेपाल कराते महासंघले विभेद गरेको जनाउँदै सन्न्यासको घोषणा गरेका छन् । श्रेष्ठले आज पत्रकार सम्मेलन गरी सन्न्यास घोषणा गरेका हुन् ।
उनले आफूजस्तै करातेका थुप्रै खेलाडी महासंघबाट पीडित भए पनि बोल्न नसकिरहेको जनाए । महासंघ सच्चिनुपर्ने र खेलाडीलाई शोषण गर्नभन्दा हकहितमा काम गर्नुपर्ने उनको भनाइ छ ।
खेलाडी श्रेष्ठले सन्न्यासपछि अब केही सातामै अस्ट्रेलिया जाने बताए । उनले पाँचौं र आठौं दक्षिण एसियाली कराते च्याम्पयनसिपमा स्वर्णपदक जितेका थिए । गत वर्ष चीनमा आयोजना भएको एसियाली खेलकुदमा उनी आफ्नो तौल समूहमा पाँचौं स्थानमा रहे ।
उनले राष्ट्रिय प्रतियोगितामा दर्जनभन्दा बढी स्वर्णपदक जितेका छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने स्पोट्स अवार्डमा उत्कृष्ट पाँच खेलाडीमा परेका थिए भने एनएनआईपीए स्पोट्स अवार्ड २०२२ का उत्कृष्ट खेलाडी बनेका थिए ।