काठमाडौं । इन्डियन वेल्स ओपनको सेमिफाइनलमा मिर्रा आन्द्रेएभासँग पराजित भएपछि एक बल ब्वाइलाई लक्षित गर्दै बल प्रहार गरेको विषयमा आलोचना भएपछि इगा स्वान्टेकले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छन् ।
दोस्रो वरियताकी स्वान्टेकले रिसको झोँकमा बल प्रहार गर्दा अनायासै 'बल ब्वाइ'तर्फ गएको बताएकी छन् । यसै कारण स्वान्टेकले दर्शकबाट खराब हुटिङ सहनुपरेको थियो भने सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।
स्वान्टेकले आफूले देखाएको व्यवहार गलत भएको स्वीकार गर्दै तुरुन्तै 'बल ब्वाइ'सँग माफी मागेको बताएकी छन् । स्वानेटेकले गत वर्षको फ्रेन्च ओपनपछि कुनै उपाधि जित्न सकेकी छैनन् ।
स्वान्टेकले आफूले भोग्नु परिरहेको चर्को आलोचनाले मानसिक रूपमा असर परेको बताएकी छिन् । गत अगस्टमा प्रतियोगिताबाहिर गरिएको परीक्षणमा स्वान्टेकले ट्रिमेटाजिडिन नामक पदार्थ प्रयोग गरेको पाइएको थियो । अन्तर्राष्ट्रिय टेनिस अख्तियार निकायले प्रदूषित मेलाटोनिन औषधिका कारण यो पदार्थ फेला परेको भन्दै उनलाई एक महिनाका लागि मात्र निलम्बन गरेको थियो ।