स्ववियु चुनावको परिणाम आउने क्रम जारी, कहाँ को विजयी भए त्रिविसँगै छैन तथ्याङ्क

चैत्र ६, २०८१ |विकास आचार्य
स्ववियु चुनावको परिणाम आउने क्रम जारी, कहाँ को विजयी भए त्रिविसँगै छैन तथ्याङ्क

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको हिजो सम्पन्न निर्वाचनको नतिजा आउने क्रम जारी छ । विद्यार्थी संगठनको दाबी अनुसार करिब तीन सय क्याम्पसमध्ये आज साँझसम्म नेविसंघ र एमालेनिकट अनेरास्ववियु एक-एक सय क्याम्पसमा विजयी भएका छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीले ७५ क्याम्पसमा जित हासिल गरेको छ । 

राप्रपा, जसपा, एकीकृत समाजवादी तथा विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन पनि केही स्थानमा विजयी भएका छन् ।

बानेश्वर बहुमुखी क्याम्पसले १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व पाएको छ । मंगलबार भएको निर्वाचनबाट अनेरास्ववियु क्रान्तिकारीका भूमिराज अधिकारी स्ववियु सभापतिमा निर्वाचित हुनुभएको हो । यहाँ २०६५ देखि विभिन्न कारण निर्वाचन हुन सकेको थिएन । नवनिर्वाचित सभापति अधिकारीको योजना छ- विद्यार्थीलाई सीपसँग जोड्दै अध्यापन गराउन पहल गर्ने ।

महाराजगन्ज नर्सिङ क्याम्पसमा निर्वाचित बिन्दु पोखरेल र लेटाङ बहुमुखी क्याम्पसमा विजयी भएका लेखनाथ दाहालको प्राथमिकतामा विद्यार्थी संख्या बढाउने, शिक्षा क्षेत्रमा देखिएका वेथिति अन्त्य गर्ने र विद्यार्थीको हकहितमा लाग्ने छ ।

त्रिविका सम्बन्धन प्राप्त १ हजार ५३ र ६२ आंगिक क्याम्पसमध्ये ४० आंगिकमा निर्वाचन भएको त्रिविलाई थाहा छ । अरू सम्बन्धन प्राप्त कति क्याम्पसमा निर्वाचन भए भन्ने जानकारी त्रिविलाई छैन ।

“रेकर्ड सिस्टम भएन अब चाहिँ रेकर्डमा ल्याउने गरि काम गर्छौं”, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताउनुभयो ।

विद्यार्थी संगठनहरूका अनुसार करिब तीन क्याम्पसमध्ये बुधबार साँझसम्म नेविसंघ र एमालेनिकट अनेरास्ववियु एक-एक सय क्याम्पसमा विजयी भएका छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीले ७५ क्याम्पसमा जित हासिल गरेको छ । राप्रपा, जसपा, एकीकृत समाजवादी तथा विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन पनि केही स्थानमा विजयी भएका छन् । 

यता केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वदलीय सहमतिपछि ८ चैतमा मतदान गर्ने तयारी थियो । विवादका कारण केन्द्रीय क्याम्पस कीर्तिपुरको निर्वाचन अनिश्चित बनेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement